समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

अपांगता भएका मतदाता भन्छन्- आफैँ मत दिन चाहन्छौँ

  शीतलपाटीन्युज डटकम | २७ कार्तिक २०७९, आईतवार १८:५७

तनहुँ- तनहुँको व्यास नगरपालिका-१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपांगता छिन्। उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता आवश्यक पर्दछ। ह्वीलचियरको सहारामा उनको दैनिकी गुज्रिरहेको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा छन्। निर्वाचनमा मतदान केन्द्र अपांगतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपांगता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ।

‘मतदान केन्द्र अपांगमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपांगतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ,’ उनले भनिन्, ‘चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ, मेरो ह्वीलचियर त बरु त्यस्तो ठाउँमा पनि गुड्न सक्ने भएकाले म आफैँ एक्लै मतदान केन्द्रसम्म पुग्न सकेँ।’

मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उनको अनुभव छ। ‘छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ, मतपेटिका पनि अग्लो स्थानमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ,’ उनले भनिन्।

मतदान केन्द्रलाई अपांगतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ हुन नसकेको उनको गुनासो छ। अपांगताको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँका सचिव उनले भनिन्, ‘हामीले यस विषयमा आवाज उठाउँदै आएका छौँ, तर पनि सुनुवाइ हुँदैन।’

अधिकांश मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उनको अनुभव छ। मतदान केन्द्र विद्यालयमा हुने र त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुँदै आएको छ। ‘प्रवेशद्वार अपांगतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिदैन,’ आफ्नै अनुभव सुनाउँदै उनले भनिन्, ‘ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो।’

स्थानीय तह निर्वाचनमा आफूसँग गएको सहयोगीले तपाईँ गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु नि भनेको सम्झिँदै उनले आफूहरू त्यस्तो नचाहने बताइन्। ‘हाम्रो भोट अरूले हालिदिओस् भन्ने हामी चाहँदैनौँ, म अपांगता हो, मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अंगले काम नगर्ला,’ उनले भनिन्, ‘मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु।’

मतदान केन्द्रमा जानका लागि अपांगता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपांगतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताए। अपांगता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहजरूपमा वातावरण मिलाउन माग गरिए पनि मागको सुनुवाइ हुन नसकेको सहृदयी मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन्।

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपांगता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए। ‘मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरूमा अपांगता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ,’ ढकालले भने।

जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन्। सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ। विद्यालय र गाविस भवनका मतदान केन्द्र अपांगतामैत्री छैनन्। -रासस

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ