समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

लोकवार्ता सम्मेलनमा संस्कृतिका कुरा

  शीतलपाटीन्युज डटकम | १४ फाल्गुन २०७९, आईतवार ०८:५४

पाल्पा– एघारौँ लोकवार्ता सम्मेलन यस वर्ष पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्पन्न भएको छ। सातबुँदे घोषणापत्रसहित सम्मेलन सम्पन्न भएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा डा प्रेमकुमार खत्रीले बताए।

‘लोकसंस्कृतिसँग जीवन जोडिएको छ, हाम्रा गाउँघरमा विभिन्न थरिका संस्कृति छन्,’ उनले भने, ‘लोककला, भाषाभाषी, लोकसाहित्यलाई संरक्षण तथा उजागर गर्न यस अभियानमा जोडिएका छौँ, यसले समुदायमा रहेका लोकसंस्कृति, कलाको विकास हुनेछ।’

लोकवार्ता सबैभन्दा ठूलो सम्पत्ति रहेको उनले जनाउँदै जग्गा, जमिन, धन, सम्पत्ति संकलनमा भन्दा लोकवार्ता संरक्षणमा सबैले पहल गरेमा लोप भएर समुदायबाट विस्थापित नहुने बताउँछन्।

यही फागुन ६ गते पाल्पाको तानसेनमा उद्घाटन गरी सुरु भएको सम्मेलन ११ गते अर्घाखाँचीको सन्धिखर्कमा पुगेर समापन गरिएको हो। सम्मेलनका क्रममा तानसेनमा लोकनृत्य , कार्यपत्र प्रस्तुति र लोकवार्ता विमर्श आयोजना गरिएको थियो।

पाल्पाको अर्गलीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, अर्गलीका स्थानीयको आयोजनामा फाउ (फागु), मागल गायन, बाली गायन तथा अभिनयसहित लोकवार्ता विमर्श प्रदर्शन गरिएको थियो। यहाँ महिला समूहद्वारा मागल (मंगल) प्रस्तुत, कृतन मण्डलीले चुट्का भजन, नाचगान, महिला र पुरुषको टोलीले असारमा धान रोप्दा गाइने बाली गीत र त्यसको अभिनयसमेत प्रस्तुत गरिएको थियो ।

गुल्मीस्थित रिडीको रुरु संस्कृत विद्यापीठमा भएको सम्मेलनमा मगर समुदायको सोरठी, मारुनी, मामाज्युलगायतका नृत्य, नेवार समुदायले लाखेनाच, ब्राह्मणले भजन र गन्धर्वले सारंगीवादन गरेर आफ्नो कला तथा संस्कृति प्रस्तुत, गुल्मीको तम्घासमा मगर समुदायले सति घाँटुनाच, नेवार समुदायले लाखेनाच, ब्राह्मण समुदायले भजन, फागु गीत, स्थानीय महिलाद्वारा एकतारे बाजा प्रदर्शन गरिएको थियो। सम्मेलनका लागि सहभागीले रेसुंगासहितका धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको अवलोकन गरेका थिए।

अर्घाखाँचीको सन्धिखर्कमा सहभागी लोकवार्ताविद्ले अर्घाखाँचीको छत्रदेव महाराज कोट दरबार, शिद्धेश्वर धाम, अर्घाभगवती, अर्घा ढुंगो, ठूलीआलमको मन्दिर, मालारानी गाउँपालिकास्थित नरसिंहस्थान र मालारानी मन्दिर, सुपादेउरालीलगायतका स्थानको अवलोकन गरेका थिए।

परिषद्का सल्लाहकार प्रा डा माधवप्रसाद पोखरेलले हाम्रा परम्परा, संस्कृति, संस्कार, लोककला, भाषा, साहित्य दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा परम्परागत संस्कृति लोप हुने अवस्थामा पुगेको बताए। यसरी देशव्यापीरूपमा सम्मेलन कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरी संरक्षणमा चासो बढ्ने उनको विश्वास छ। लोकवार्ता परिषद् लोकवार्ता सिकाउन नभई सिक्नका लागि गाउँगाउँ आएको पनि उनको भनाइ छ।

कास्की, रुपन्देही, कपिलवस्तु, दैलेख, रोल्पा, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुरलगायतका २२ जिल्लामा पुगेर सम्मेलन गरिसकिएको छ। यो सम्मेलन हरेक वर्ष आयोजना हुँदै आएको छ। दसैँ–तिहारको बीचमा आयोजना हुँदै आए पनि यो वर्ष संघ र प्रदेशको निर्वाचनका कारण निर्धारित समय पछाडि भएको हो। नेपालका सबै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता थियो।

विसं २०७१ मा संस्था स्थापना गरी लोकजीवन, लोकसंस्कृति, लोकसाहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ। स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्को वर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताब छाप्ने काम गरिएको छ।

कला, संस्कृतिसहितको संरक्षण गर्दै मूर्त–अमूर्त कला, संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र त्यसलाई पुस्तकका रूपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ