काठमाडौं– नेपाल उद्योग परिसंघले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर १० बुँदे सुझाव दिएको छ ।
मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरी परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको टोलीले अर्थमन्त्री महतलाई आइतबार अर्थतन्त्र सुधारका सुझाव दिएका हुन् ।
परिसंघका अध्यक्ष अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराइनुपर्ने, लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए । यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम हुन पाएमा अर्थतन्त्रमा छिटो सुधार आउने उनले विश्वास व्यक्त गरे ।
ब्याजदर घटाउन एवं तरलताको स्थिति सहज बनाउन सीआरआर ३ प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको सत् प्रतिशत निक्षेपको रूपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव अध्यक्ष अग्रवालले सुझाव दिए । यस्तै मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम ५ प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, सेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ । निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्नेछ ।
परिसंघको सुझाव लिँदै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले सकारात्मक ‘सेन्टीमेन्ट’ सिर्जना गर्न लागि पर्ने बताए । उनले भने, ‘अर्थतन्त्र सुधारका लागि सकारात्मक सेन्टीमेन्ट निर्माण गर्न पूर्ण रूपमा लाग्नेछौं । जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौं । त्यसमा तपाईँहरूको पनि सहयोग आवश्यक पर्छ’ ।
प्रतिक्रिया