पोखरा- प्रकृतिको क्रिडाभूमि पोखरा सहरमा यति बेला खेलकुदको कुम्भमेला चलिरहेको छ।
झण्डै चार दशकपछि यहाँको खेलमैदानमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेका छन्। बाँकी २६ खेल पोखराको खेल मैदानमा भइरहेका छन्।
११ टोलीका ६ हजार एक सय ५७ खेलाडीमा चार हजार ५०० बढी खेलाडी भने पोखराको खेल मैदानमा छन्। यति बेला पोखराको मौसम पनि निकै स्वच्छ भएको छ। खुलेको आकाश र सेतो हिमशृङ्खलाले यहाँ आउने जो कोहीलाई मोहित पार्छ नै त्यसमाथि पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण साक्षी राखेर खेलमैदानमा उत्रेका खेलाडी पनि उत्तिकै दंग देखिन्छन्।
आइतबार क्रिकेट खेलका लागि तयार हुँदै गर्दा महिला क्रिकेट टोलीको मधेश प्रदेशकी क्याप्टेन कविता गौतम निकै उत्साहित देखिन्थिन्। खेल मैदानबाट टलक्क टल्केको माछापुच्छ्रेतिर आँखा लगाउँदै उनले भनिन् ‘यहाँको स्वच्छ र सुन्दर वातावरणले बेग्लै मज्जा आउँछ, सुन्दर र स्वच्छ देखिएको हिमाल हेर्दै आनन्द लाग्ने, यस्ता दृश्यले खेलाडीलाई निकै ऊर्जा थप्छ।’ क्याप्टेन गौतमले करिब १० वर्षअघि पोखराको खेल मैदानबाट आफ्नो टोलीले स्वर्णपदक जितेको अनुभवलाई पनि सुनाइन्।
‘खेलाडीले जहाँ गए पनि खेल त खेल्ने हो तर पोखराको मैदानमा खेल्दाको अनुभूति बेग्लै र आनन्ददायक लाग्छ, यो सुन्दर सहर पोखराको विशेषता हो,’ उनी भन्छिन्। उनले अहिले पनि पोखराको खेल मैदानमा माछापुच्छ्रे« साक्षी राखेर खेल्दा निकै उत्साह थपिएको बताइन्। नेपाल महिला क्रिकेट टोलीकी क्याप्टेन रुविना क्षेत्री पनि पोखराको सुन्दरताले खेलाडीलाई बेग्लै ऊर्जा थप्ने बताइन्।
उनले देश विदेशका विभिन्न खेल मैदानमा पुगेर खेल प्रदर्शन गरेको अनुभव भए पनि पोखराको सुन्दरताले गजबको ऊर्जा थप्ने अनुभव सुनाइन्। ‘हिमालकै देशको खेलाडी भए पनि खुलेको हिमशृङ्खला देख्दा कहिल्यै मन थाक्दैन, हेरिरहूँ लाग्ने। यहाँ आएपछि मन आनन्दित हुन्छ र घुम्न निस्कँदा पनि विदेश गएको झल्को आउँछ,’ उनले भनिन्, ‘माछापुच्छ्रे अन्नपूर्णलगायत हिमशृङ्खलालाई हेर्दै आत्मविश्वास जगाएर खेल्ने अवसर अरु ठाउँमा विरलै पाइन्छ तर पोखरा यस्तो सहर हो जहाँ आँखा अगाडि हिमाल हेर्दै खेल्ने अवसर पाइन्छ।
‘ उनले तालतलैया, मिलेको बस्ती, हरियाली डाँडापाखा र सफा वातावरणले पनि खेलाडीलाई मोहित गर्ने बताइन्। नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले पोखरा सहरको सुन्दरता अवर्णित रहेको बताए। खेलाडीका लागि राज्यले आर्थिक पाटो सवलीकरण हुने वातावरण सिर्जना गर्न सके यस क्षेत्रमा महिला र पुरुष दुवै खेलाडीको संख्या बढ्ने उनी बताउँछन्।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले सयौँ चोटि पोखरा आउँदा पनि आफू कहिल्यै नथाक्ने सहरमा अहिले खेलाडीका साथ रहन पाउँदा निकै खुसी लागेको बताए। उनले भने, ‘खेलमा हारजित हुनु स्वाभाविक हो। यति खेलमा पराजित भएका खेलाडी पनि पोखराको सुन्दरता स्वच्छ सुन्दर हिमाल तथा ताल हेर्दा र घुम्दा ‘रिफ्रेस’ बन्न सघाउँछ।’ रासस
प्रतिक्रिया