पोखरा- पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ सांगीतिक यात्राका क्रममा यूएई जाने भएको छ। कोभिड-१९ महामारीपछि लेकाली पहिलो विदेश यात्रामा निस्कन लागेको हो। यही अप्रिल २२ मा दुबई र २३ मा आवुधावीमा ‘लेकाली ब्याण्ड लाइभ इन कन्सर्ट’ आयोजना हुने ब्याण्डका सदस्य नवीन गुरुङले जानकारी दिए।
यूएईमा रहेका नेपाली समुदायको आयोजना र व्यवस्थापनमा कार्यक्रम हुन लागेको उनको भनाइ छ। ‘कोभिड महामारीपछि कन्सर्ट लिएर पहिलोपटक विदेश जाँदैछौँ,’ उनले भने, ‘युएईपछि अरू देशमा पनि जाने तयारी छ।’
ब्याण्ड स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विदेशयात्रा तय गरिएको हो। ब्याण्डमा गायक नवीनसहित विशाल, भाइ, कुन्दन, अमित र चाइनिज गुरुङ गरी छ सदस्य छन्। २०५२ स्थापित सो ब्याण्डका ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’लगायत गीत चर्चित छन्।
लेकालीले २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेको थियो। त्यसपछि ‘मानस’, ‘मोहिनी’, ‘फर्कि हेर्दा’लगायत एल्बम स्रोतामाझ ल्याएको थियो। पोखरामा सांगीतिक गतिविधि सुस्ताएपछि बीचमा केही समय ब्याण्ड निस्क्रियजस्तै बनेको थियो।
ब्याण्डका नयाँ-पुराना सदस्य मिलेर लेकालीलाई फेरि पुरानै लयतिर फर्काउने प्रयासमा लागेका हुन्। स्थापनाकालमा ब्याण्डमा रहेका कतिपय कलाकार अहिले विदेशमा छन्। लेकालीले पोखरालगायत देशका विभिन्न ठाउँमा हुने मेलामहोत्सवमासमेत प्रस्तुति दिँदै आएको छ।
प्रतिक्रिया