GNNNEWS-
लन्डन – युकेको प्रपर्टी बजार सम्बन्धी विज्ञहरुले बेलायतका घरधनीहरूलाई सन् २०२६ देखि लागू हुन गइरहेका नयाँ नियमहरुबारे जानकारी राख्न आग्रह गरेका छन्। उनीहरूले समयमै तयारी नगरे गम्भीर जरिवाना तथा कानुनी कारबाही भोग्नु पर्ने चेतावनी पनि दिएका छन्।
ए स्टार फाइनान्सियल सर्भिसेजले गत बिहीबार आयोजना गरेको ‘युकेमा प्रपर्टी तथा घर भाडासम्बन्धी वेबिनार’ मा बोल्दै नर्थउड एस्टेट एजेन्टसका निर्देशक कोलिन सिम्प्सनले घरधनीहरूका लागि नियम पालना (कम्प्लायन्स) नै सबैभन्दा ठूलो चुनौती भएको बताए।
“नियमकानुनहरु लगातार बदलिँदै छन्। त्यसबारे जानकार रहनु सबै घर धनीहरुको कर्तव्य हो,” उनले भने। उनले नयाँ नियम अनुसार भाडामा बस्ने व्यक्तिको विस्तृत ‘ड्यु डिलिजेन्स’देखि लिएर सम्पत्तिको ‘एमओटी स्टाइल’ समीक्षा गर्नु पर्ने बताए। “घरधनीले कुनै चिन्ता लिनु नपरोस् भनेर हामीले सबै कम्प्लायन्स तथा प्रशासनिक काम सम्हाल्छौँ,” उनले भने।
नर्थउड एस्टेट एजेन्टसकी अपरेसन म्यानेजर श्रीमती पेसेन्सले आगामी १ मे २०२६ देखि लागू हुन गइरहेको ‘रेंटर्स राइट्स एक्ट’ ले बेलायतमा दशकौँपछि सबैभन्दा ठूलो परिवर्तन ल्याउने बताइन्। उक्त ऐन अनुसार दफा २१ (नो फल्ट एभिक्शन) पुरै हटाइएको छ भने घरधनीले आफ्नै घर फिर्ता लिन पनि अनिवार्य रुपमा वैध कारण देखाउनु पर्ने छ। भाडा बक्यौता भएमा तीन महिनाको नोटिस दिनु पर्ने छ भने नयाँ ढाँचाको टेनेंसी सम्झौता गर्नु पर्ने छ। त्यस्तै २७ डिसेम्बर २०२५ देखि स्थानीय काउन्सिलहरुले बिना सूचना निरीक्षण गर्न पाउने छन्। उक्त कानूनको उल्लङ्घन गर्ने घरधनीहरुलाई ३० देखि ४० हजार पौण्डसम्म जरिवाना वा कारावास पनि हुन सक्ने उनले बताइन्।
जीएनएस एसोसियट्सका प्रबन्ध निर्देशक तथा कर विशेषज्ञ एल.एन. घिमिरेले ब्रिटिश सरकारले सुरु गरेको ‘मेकिङ्ग ट्याक्स डिजिटल’ बारे जानकारी दिए। उनले सेल्फ -इमप्लोयडहरुले पहिले वर्षमा एक पटक मात्र कर विवरण बुझाउनु पर्नेमा नयाँ नियम अनुसार अब वर्षको पांच पटक डिजिटली आफ्नो कर विवरण अपडेट गर्नु पर्ने बताए। उनले अब अधिकाम्श घर धनीहरु यो नयाँ नियममा समेटिने भएकाले समयमै जानकारी लिन आग्रह गरे।
कार्यक्रमको सहजीकरण गरिरहेका ए स्टार मोर्गेजेजका मोर्गेज एण्ड प्रोटेक्सन एडभाइजर रमेश सारनकोटीले बैंक अफ इङ्ग्ल्यान्डले वर्षमा आठ पटक ब्याजदर समीक्षा गर्ने गरेको र यस वर्षको अन्तिम समीक्षा १८ डिसेम्बरमा हुने जानकारी दिए । “सम्पत्ति (प्रोपर्टी) क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरू नियम–कानुनको पूर्ण पालना गर्न अझ सचेत र जानकार हुन आवश्यक छ। तर यस विषयमा अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन। जहाँ प्रतिफल हुन्छ, त्यहाँ मेहनत पनि आवश्यक हुन्छ। सरकारको रणनीति निजी तथा साना घरधनीलाई अझ जिम्मेवार बनाउनेतर्फ केन्द्रित देखिन्छ। यद्यपि निजी घरधनीले नयाँ नियमन तथा मापदण्डहरू पालना गर्नुपर्ने हुन्छ, तर प्रोपर्टी लगानी अझै पनि सबैभन्दा बलिया लगानी क्षेत्रहरूमध्ये एक हो। २५% डिपोजिटमा लगानी गरेर १००% इक्विटी वृद्धि प्राप्त गर्न सकिने सम्भावना रहन्छ, तर यो सही स्थान, सही मूल्य, गहिरो अनुसन्धान तथा सही परामर्शमा निर्भर गर्दछ,” उनले भने।
उनले प्रपर्टी मार्केटमा लगानी गर्न युकेवासी नेपाली समुदायका लागि राम्रो अवसरहरु रहेको तर विश्वसनीय र आधिकारिक कम्पनी वा एडभाइजरसंग मात्रै सम्पर्क गर्न सुझाव दिए। “तपाईंले घर किन्ने सोच्नु भएको छ भने ६ महिना वा एक वर्ष पहिलेनै आधिकारिक कम्पनी वा एडभाइजरसंग सल्लाह लिनु राम्रो हुन्छ। त्यस्तो सल्लाहको पैसा तिर्नु पर्दैन र तपाईंले आफ्नो परिस्थिति अनुसार योजना बनाउन सक्नु हुन्छ,” सारनकोटीले भने ।
सो अवसरमा ए स्टार मोर्गेजेजकै मोर्गेज एण्ड प्रोटेक्सन एडभाइजर कुमार गुरुङले आफ्नो कम्पनीले दिइ रहेको सेवाहरुको बारेमा र ए स्टार रियल एस्टेट्सका एडभाइजर नारायण तिमिल्सिनाले सो कम्पनीले ग्रेटर लन्डनमा घर बिक्री, भाडा, व्यवस्थापन, मूल्यांकन तथा सम्पूर्ण कम्प्लायंस सेवा प्रदान गरिरहेको बताए।
ए स्टार मोर्गेजेजका फ़ाइनेन्सियल एडभइजर तथा प्रबन्ध निर्देशक मिन दर्लामीले सबै सहभागीहरुलाई स्वागत गरेका थिए। ए स्टार मोर्गेजेजले आगामी दिनमा पनि समसामयिक विषयमा वेबिनारहरु आयोजना गर्ने जनाएको छ।
प्रतिक्रिया