शीतलपाटीन्युज डटकम।
लन्डन – सन् २०२६ जनवरी १ तारिखका दिन लन्डनमा टोपी दिवस मनाइने भएको छ। नेपाली पहिचान,संस्कृति र गौरवलाई सम्मान गर्ने उद्देश्यसहित नेपाली टोपी दिवस मनाउने तयारी गरिएको हो।
आयोजकका अनुसार, कार्यक्रम जनवरी १ मा बिहान ११ बजेदेखि सुरु हुनेछ। यस अवसरमा हन्स्लो हाइस्ट्रीटदेखि ओष्टर्ली पार्कसम्म टोपी दिवस पदयात्रा आयोजना गरिनेछ। सहभागीहरूलाई सोही स्थानमा रहेको काठमाडौँ जोन रेष्टुरेन्ट नजिक भेला हुन आव्हान गरिएको छ ।
कार्यक्रमले नेपालीहरूको ऐतिहासिक पहिचान झल्काउने परम्परागत नेपाली टोपी,संस्कृति र गौरवलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परम्परागत ढाकाटोपी वा नेपाली टोपी लगाएर सहभागी भई यो ऐतिहासिक अवसरलाई सामूहिक रूपमा मनाउन आग्रह गरेका छन्।
लन्डन तथा आसपासका नेपाली समुदायबीच एकता, सांस्कृतिक चेतना र राष्ट्रिय गौरवलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।कार्यक्रम सम्बन्धी थप जानकारीका लागि कमल कंडेललाई ०७७७२६४११८० मा सम्पर्क गर्न सकिनेछ।
वि.सं. २०७० सालदेखि नेपालमा औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, सांस्कृतिक अभियन्ता र नेपाली समुदायको पहलमा व्यापक रूप लिँदै गएको छ।
जनवरी १ मा टोपी दिवस मनाइनुको मुख्य कारण नयाँ वर्षको सुरुआत सँगै नेपाली पहिचान र संस्कृतिको स्मरण गराउँदै राष्ट्रिय भावना अभिवृद्धि गर्नु हो। नयाँ वर्षको दिन नेपाली टोपी लगाएर गर्वका साथ आफ्नोपन देखाउने उद्देश्य यसमा निहित छ।
नेपाली टोपी विशेषगरी ढाकाटोपी र भादगाउँले टोपी नेपालको इतिहास,राजनीति र कूटनीतिसँग गहिरो रूपमा जोडिएको छ। आज टोपी दिवस नेपालभित्र मात्र सीमित नभई बेलायत,युरोप, अमेरिका,अष्ट्रेलिया,खाडी मुलुक लगायत विश्वभर रहेका नेपाली डायस्पोराले पदयात्रा,सांस्कृतिक कार्यक्रम,फोटो अभियान र सामूहिक उत्सवका रूपमा मनाउँदै आएका छन्।
प्रतिक्रिया