शीतलपाटीन्युज डटकम।
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत रिक्त १८ सदस्य पदका लागि सम्पन्न निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले सातै प्रदेशमा जीत हासिल गरेका छन्। निर्वाचनमा नेपाली कांग्रेसले ९,नेकपा एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १ स्थानमा उम्मेदवारी दिएका थिए।
निर्वाचन कार्यक्रमअनुसार कोशी प्रदेशको एक पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए भने बाँकी पदका लागि मतदान भएको थियो। प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा मतभार प्रणालीमार्फत मतगणना गरिएको थियो ।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। यस्तै नेकपा एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण,लोसपाका महन्थ ठाकुर तथा नेकपा एमालेकी रेखाकुमारी झा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन्।
गण्डकी प्रदेशमा नेकपा एमालेकी सम्झना देवकोटा र नेपाली कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन्।
त्यसैगरी लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा नेकपा एमालेकी रामकुमारी झाक्री राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्।
कर्णाली प्रदेशमा नेपाली कांग्रेसका ललितजंग शाही र नेकपा एमालेका मीनासिंह रखाल विजयी भएका छन्।
सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेकी लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
(दियोपोष्टबाट साभार)
प्रतिक्रिया