शीतलपाटीन्युज डटकम।
काठमाण्डौं । गैरआवासीय नेपाली संघको महासचिवमा चिरन्जीबी खड्काले उम्मेदवारी दिने भएका छन् । गैरआवासीय नेपाली संघको यूरोप संयोजक रहेका खड्काले संघको मार्च महिनामा हुने १२ औं महाधिवेशन तथा विश्व सम्मेलनमा सो पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
आफ्नो कार्यक्षेत्र चेक रिपब्लिका बनाएका चिरञ्जीवी खड्का एक अनुभवी सामाजिक अभियन्ता, शैक्षिक व्यक्तित्व तथा संस्थागत नेतृत्वमा दीर्घ अनुभव भएका व्यक्तिका रूपमा परिचित छन्।
हाल चेक गणतन्त्रको विज्ञान प्रतिष्ठान अन्तर्गत ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटमा वैज्ञानिक (एकेडेमी अफ साइन्स) का रूपमा कार्यरत डा. खड्काले प्राकृतिक स्रोत व्यवस्थापन, समाजशास्त्र तथा अन्तर्राष्ट्रिय वन विज्ञानका क्षेत्रमा उच्च शैक्षिक योग्यता हासिल गरेका छन्।
उनीसंग एडिबी, वल्र्ड बैंकद्धारा संचालित परियोजना लगायत संयूक्त राष्ट्र अन्तरर्गतका बिभिन्न एजेन्सीहरुका काम गरेको अनुभव छ ।
डा खड्काले सन् २०१२ मा अस्ट्रियाको भियना स्थित युनिभर्सिटी अफ नेचुरल रिसोर्सेस एन्ड लाइफ साइन्सेस -बोकु विश्वविद्यालय_ बाट प्राकृतिक स्रोत व्यवस्थापनमा पीएचडी उपाधि प्राप्त गरेका हुन्। यसअघि सोही विश्वविद्यालयबाट सन् २००६ मा अन्तर्राष्ट्रिय पर्वतीय वन विज्ञानमा स्नातकोत्तर (मास्टर्स) अध्ययन पूरा गरेका थिए।
उनले नेपालमै रहँदा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पस, ललितपुरबाट सन् २००४ मा समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर (एमए) गरेका छन्।
यसका साथै त्रिभुवन विश्वविद्यालयकै वन विज्ञान अध्ययन संस्थान, हेटौँडाबाट सन् १९९७ देखि २००० सम्म सामान्य वन विज्ञानमा स्नातक (बीएस्सी) र नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौंबाट सन् १९९५ देखि १९९८ सम्म वाणिज्यशास्त्रमा स्नातक (बीकम) अध्ययन सम्पन्न गरेका छन्।
गैरआवासीय नेपाली संघसँग डा खड्काको सम्बन्ध सन् २००९ देखि सुरु भएको हो। सन् २००९–२०११ को अवधिमा अस्ट्रियामा एनआरएनएको साधारण सदस्यका रूपमा सक्रिय रहेका उनी सन् २०१२–२०१४ मा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अस्ट्रियाको अध्यक्ष पदका उम्मेदवार बने। त्यसपछि सन् २०१५–२०१७ सम्म चेक गणतन्त्रस्थित एनआरएनए एनसीसीमा सदस्यका रूपमा कार्यरत डा खड्का सन् २०१७–२०१९ र २०१९–२०२१ गरी दुई कार्यकाल एनआरएनए एनसीसी चेक गणतन्त्रको अध्यक्ष पदमा निर्वाचित भए।
संस्थागत नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा खड्का सन् २०२१–२०२३ को कार्यकालमा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका रूपमा समेत रहेका थिए। सोही अवधिमा उनले आईसीसी अन्तर्गत मिडिया समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हालेका थिए। लामो समयदेखि युरोपमा बसोबास गर्दै आएका डा.खड्का एनआरएनएभित्र संस्थागत सुदृढीकरण,पारदर्शिता,समन्वय र दीर्घकालीन रणनीतिमा विश्वास राख्ने नेतृत्वकर्ताका रूपमा चिनिन्छन्।
उनी नेपालका बिभिन्न सामजिक संघसंस्थामा सकृय छन् भने हाइड्रो लगायतको सामूहिक लगानी परियोजनाहरुमा लगानी गरेका छन्। गैरआवासीय नेपाली संघको १२ औं महाधिवेशन मार्च १४ देखि १६ सम्म काठमाण्डौंस्थित सोल्टी होटलमा हुदैछ ।
प्रतिक्रिया