शीतलपाटीन्युज डटकम।
काठमाडौं। राजधानीमा बढ्दै गएको सवारी चोरीको घटनाबीच ट्राफिक प्रहरीले ठूलो सफलता हात पारेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले काठमाडौं उपत्यकाबाट चोरी भएका ५३ वटा मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

कार्यालयबाट सादा पोसाकमा खटिएको विशेष प्रहरी टोलीले काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न स्थानमा निगरानी बढाउँदै खोजतलास अभियान सञ्चालन गरेको थियो। सोही अभियानका क्रममा ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर फेला पारिएको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्रसिंह गुरुङका अनुसार बरामद गरिएका अधिकांश सवारीसाधन उपत्यकाभित्रै चोरी गरी आसपासका जिल्लामा लगेर प्रयोग गर्ने गरिएको पाइएको छ। “चोरी भएका सवारीसाधनलाई तत्कालै उपत्यकाबाहिर लगेर नम्बर प्लेट परिवर्तन गर्ने,रंग र बाहिरी स्वरूप फेर्ने तथा नक्कली कागजपत्र तयार गरी बिक्री वितरण गर्ने गिरोह सक्रिय देखिएको छ,”उनले भने।
नम्बर प्लेट फेरेर खुल्लमखुल्ला बिक्री-
प्रहरी अनुसन्धानबाट चोरीमा संलग्न समूहले पहिले सवारीसाधनको मूल नम्बर प्लेट हटाएर नयाँ नम्बर राख्ने,चेसिस र इन्जिन नम्बरमा समेत छेडछाड गर्ने गरेको खुलासा भएको छ। कतिपय अवस्थामा नक्कली ‘ब्लुबुक’ तयार पारेर अन्य व्यक्तिलाई बिक्री गर्ने गरेको समेत पाइएको छ।
डीएसपी गुरुङका अनुसार यस्ता गिरोहले सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट सस्तो मूल्यमा सवारी बिक्रीको विज्ञापन राख्ने गरेका छन्। ग्राहकलाई कम मूल्यको लोभ देखाएर चोरीका सवारीसाधन किनबेच गर्ने क्रम बढ्दो छ। “सवारी किन्दा अनिवार्य रूपमा कागजपत्रको प्रमाणिकता जाँच गर्नुपर्छ,अन्यथा अनाहकमा कानुनी झमेलामा पर्न सकिन्छ,”उनले सचेत गराए।
पीडितलाई राहत,प्रहरीलाई धन्यवाद-
हराएका सवारीसाधन फेला परेपछि सम्बन्धित धनीहरूले राहत महसुस गरेका छन् । कतिपयले महिनौँदेखि खोजी गर्दा पनि सवारी नपाएपछि आशा मारेका थिए। ट्राफिक प्रहरीको सक्रियताले उनीहरूमा भरोसा बढाएको छ।
सवारी धनीहरूले प्रहरीको पहलको प्रशंसा गर्दै चोरी नियन्त्रणका लागि अझ कडाइ गर्न आग्रह गरेका छन्। विशेषगरी भीडभाड हुने क्षेत्र,बसपार्क,शैक्षिक संस्था आसपास र बजार क्षेत्रमा सवारी चोरीका घटना बढी हुने गरेको उनीहरूको गुनासो छ।
प्रविधि र सूचना संकलनबाट सफलता-
ट्राफिक प्रहरीले सवारी चोरी नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाएको जनाएको छ। सीसीटीभी फुटेज विश्लेषण,गोप्य सूचनाको संकलन र नियमित चेकजाँचका कारण चोरीका सवारीसाधन पत्ता लगाउन सहज भएको बताइएको छ।
प्रहरीका अनुसार कतिपय सवारीसाधन लामो समयदेखि प्रयोग भइरहेकै अवस्थामा फेला परेका छन्। चोरी भएको थाहा नपाएका तेस्रो व्यक्तिसमेत अनुसन्धानको दायरामा आएका छन्। यस्ता अवस्थामा कानुनी प्रक्रिया पूरा गरी वास्तविक धनीलाई सवारी फिर्ता गरिएको कार्यालयले जनाएको छ।
सवारी हराए के गर्ने?
ट्राफिक प्रहरीले आफ्नो सवारीसाधन हराएमा ढिलाइ नगरी प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। तत्काल सूचना प्राप्त भए खोजतलास र निगरानी प्रभावकारी हुने प्रहरीको भनाइ छ। सवारी हराएको अवस्थामा नजिकको प्रहरी कार्यालयमा निवेदन दिनुका साथै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ।
प्रहरीले सवारीधनीलाई सावधानी अपनाउन पनि सुझाव दिएको छ । सार्वजनिक स्थानमा सवारी पार्क गर्दा सुरक्षित स्थान छनोट गर्ने,डबल लक प्रणाली प्रयोग गर्ने,सवारीमा अतिरिक्त सुरक्षा उपकरण जडान गर्ने तथा अपरिचित व्यक्तिलाई सवारी नदिन आग्रह गरिएको छ।
चोरी नियन्त्रण चुनौतीपूर्ण-
राजधानीमा सवारी साधनको संख्या तीव्र गतिमा बढ्दै जाँदा चोरीका घटना पनि बढ्दो क्रममा छन्। खुला सीमाना,सस्तो मूल्यमा सवारी खरिद गर्ने प्रवृत्ति र अनलाइन कारोबारको विस्तारले गिरोहलाई सहज वातावरण प्रदान गरेको सुरक्षा अधिकारीहरू बताउँछन्।
यद्यपि,पछिल्लो समय प्रहरीले सादा पोसाकमा टोली परिचालन, नियमित चेकिङ र विशेष अपरेशनमार्फत सवारी चोरी नियन्त्रणमा सक्रियता बढाएको छ। ५३ वटा सवारीसाधन एकैपटक फेला पारिनु यसै अभियानको परिणाम भएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले भविष्यमा पनि यस्तो अभियानलाई निरन्तरता दिने बताएको छ। “सवारी चोरी नियन्त्रण हाम्रो प्राथमिकता हो । नागरिकको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं,” डीएसपी गुरुङले भने।
राजधानीमा बढ्दो सवारी चोरीका घटनाबीच ५३ वटा मोटरसाइकल र स्कुटर फेला पारिनु प्रहरीका लागि उल्लेखनीय उपलब्धि मानिएको छ। तर,चोरीमा संलग्न गिरोहको जालो पूर्ण रूपमा तोड्न अझै सशक्त र समन्वित अभियान आवश्यक देखिएको छ।
प्रतिक्रिया