शीतलपाटीन्युज डटकम।
काठमाडौं। पाल्पाको माथागढी गाउँपालिकामा शनिबार साँझ भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा ज्यान गएसँगै मृतकको सङ्ख्या बढेको हो।
तानसेन नगरपालिका-१०,पटुवाका ३३ वर्षीय राजन चिदीको रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।
यसअघि नै उक्त दुर्घटनामा परी अन्य तीन जनाले ज्यान गुमाइसकेका थिए । मृत्यु हुनेहरूमा टिपर चालक अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४,सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह नगरपालिका-२,खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेका छन्।
प्रहरीका अनुसार शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर माथागढी-७,रहबासमा दुर्घटनामा परेको थियो । सडकबाट करिब एक सय मिटर तल खसेर भएको उक्त दुर्घटनामा परी टिपरमा सवार चारै जना गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी प्राथमिक उपचारका निम्ति प्रभासस्थित लुम्बिनी मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले चालक सुनारलगायत तीन जनालाई मृत घोषणा गरेका थिए। गम्भीर अवस्थामा रहेका चिदीलाई भने थप उपचारका लागि भैरहवा रिफर गरिएकोमा उनको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया