समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

किसानलाई सधैँ पिरोल्ने फड्के कीरा

  शीतलपाटीन्युज डटकम | ३ कार्तिक २०७९, बिहीबार ११:२६

पाल्पा– रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो।

वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरि झुलेका धान बालीमा यस पटक कीराको समस्याले चिन्तित छन्।

‘दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी कीराले सतायो, कहिले गबारो कहिले फड्के कीरालगायतका विभिन्न समस्याले किसानलाई सधैँ पिरोल्छ,’ उनले गुनासो पोखे।

वर्षा सकिएपछि हालै काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नुपरेको उनी बताउँछन्।

करिब ६ रोपनी क्षेत्रफलमा लगाइएको धान बाली राम्रै भएपछि स्याहार्ने समयमा फड्के कीराको समस्याले क्षति पुगेको छ। पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यस पटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उनलाई रातदिन सताएको छ।

गत वर्ष काटेको धान वर्षाले डुबानमा परी नोक्सानी व्यहोर्नुपर्‍यो। क्षतिपूर्तिका लागि गाउँपालिकाले विवरण संकलन गरे तापनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उनको गुनासो छ।

सगाहाको नौ सय मुरी खेतभरि नै सो कीराले सताएको अगुवा कृषक ऋषिराम अर्याल बताउँछन्। उनका अनुसार गत वर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रूपमा देखिँदा खासै धानमा असर परेन तर यस पटक ठूलै क्षति हुने गरी फैलिएको छ।
आफूले लामो समयदेखि धान लगाउँदै आएको भए पनि यस पटकजस्तो महामारीको रूपमा फड्के कीराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ।

जिल्लाको हुँगी, अगाहाखोला क्षेत्रमा करिब ७० रोपनीमा फड्के कीराको समस्या फैलिएपछि स्थलगत निरीक्षणपश्चात् कार्यालयबाट नियन्त्रणका लागि विषादी उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख कामना अधिकारी बताउँछिन्।
‘धान बालीमा लाग्ने प्रकोपमध्ये यो सबैभन्दा खतरनाक कीरा हो, यस वर्ष पानी धेरै परेकाले प्रकोप फैलिएको छ, समयमा नै पहिचान भई उपचार गरेमा नियन्त्रणमा ल्याउन सकिन्छ,’ उनले भनिन्।

काटिसकेको धान भए धेरै क्षति हुन्थ्यो तर काट्न बाँकी रहेका धान भएकाले क्षति कम हुने उनी बताउँछिन्। कीराको समस्या देखिएमा किसानलाई पालिका तथा कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सम्पर्क गर्न उनको अनुरोध छ।

रामपुर नगरपालिकाका विभिन्न स्थानमा समस्या भेटिएपछि स्थलगत रूपमा अवलोकनपश्चात् विषादी छर्कन कृषकलाई सुझाव दिइएको शाखा प्रमुख रामहरि पाण्डेय जानकारी दिन्छन्।

यस क्षेत्रमा एक हप्तादेखि यस कीराको समस्याका सम्बन्धमा कृषक गुनासो राख्न आउने गरेपछि निःशुल्क विषादी उपलब्ध गराउँदै आएको शाखा प्रमुख पाण्डेयले बताउँछन्।

विशेष गरी अलि गहिरो, पानी जम्ने, गाँजको घनत्व बढी भएको जग्गामा पानी परेपछिको सापेक्षित आद्रता उच्च हुन गई यस कीराको समस्या बढ्न गएको अनुमान लगाउन सकिन्छ।

वयस्क २.५ देखि ३.४ मिलिमिटर लामो हुन्छ र शरीर कुनै खैरो, कुनै सेता र कुनै हरिया रङका फुत्तफुत्त उफ्रने किसिमका मसिना कीरा हुन्छन्। यो कीरामा साना र ठूला पखेटा दुवै थरीका हुन्छन्। यसको मझौला पिठ्युँ खण्डमा तीन खैरा धर्साहरू हुन्छन्। शिशु फड्केको भने खैरो शरीर हुन्छ।

धानका बिरुवा मर्दछन्, बिरुवा गाँजिन र बढ्न सक्दैनन्, धानको बोटमा बाला नलागी परालजस्तो भई बोट सुकेर जान्छ, यसको लक्षण जग्गाको कुनै एक ठाउँबाट सुरु भई फैलिँदै जान्छ।

रोकथामका उपाय उपयुक्त जातको छनोट गर्ने, ढिलो लगाइएको भन्दा छिटो लगाइएको र ढिलो पाक्नेभन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाइएको छ।

गाँजको घनत्व काम गर्ने, धान रोप्ने समयमा प्रतिगाँजमा दुई–तीन वटाभन्दा बढी बेर्ना नरोप्ने गरेमा रोकथाम गर्न सकिन्छ। त्यस्तै नाइट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने, तीन चार दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्ने, (पाकेर काट्ने बेलाको धानमा पानी सुकाउने) अन्तिम विकल्पको रूपमा रासायनिक विषादीको प्रयोग गर्ने, एजाडिरिक्टीन २‍.३ मिलिलिटर, बुफ्रोफेजीन एक मिलिलिटर, इमिडाकोल्प्रिड ०.५ ग्राम र निटेनपाइरम एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाइ फेदमा पर्ने गरी एक हप्ताको फरकमा छर्कनुपर्दछ।

विषादी छर्कँदा धानको बिरुवा माथिबाट होइन बिरुवाको फेदमा पर्ने किसिमले छर्कनुपर्दछ। धानको फूल फुलेको अवस्थामा विषादी छर्कनुहुँदैन।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ