शीतलपाटीन्युज डटकम।
काठमाडौं। सहकारी संस्थामा बचतकर्ताको अर्बौं रकम हिनामिनासम्बन्धी प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गौतम श्री सहकारीका व्यवस्थापक रविन विष्ट पक्राउ परेका छन्। उक्त सहकारीमा ४७९१ बचतकर्ताको जम्मा ४ अर्ब ६ करोड ३९ लाख ४८ हजार रुपैयाँ बचत रहेको देखिएको छ। त्यसमध्ये २ अर्ब ५ करोड ९९ लाख २७ हजार ५०३ रुपैयाँ ऋण प्रवाह भएको विवरण भेटिएको छ। तर बाँकी रकमसम्बन्धी आवश्यक कागजात भने उपलब्ध नरहेको प्रहरीले जनाएको छ।
यसैगरी गोरखा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री,अविनकुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राईलाई पनि पक्राउ गरिएको छ। गोरखा सहकारीमा १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको छ। त्यसमध्ये १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण प्रवाह भएको देखिएको छ भने बाँकी रकमको स्पष्ट विवरण फेला नपरेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा प्रवाह गरिएको ऋणसमेत कमसल धितो, बिना धितो तथा बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएर दिइएको पाइएको छ। जसका कारण ऋण असुली हुन नसकेको र बचतकर्तालाई रकम फिर्ता गर्न समस्या भएको निष्कर्ष निकालिएको छ। पक्राउ परेकामाथि म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
(नेपालब्रिटेन)
प्रतिक्रिया