शीतलपाटीन्युज डटकम।
टोरन्टो (क्यानडा) — उच्च शिक्षा हासिल गरी आफ्नो र परिवारको उज्ज्वल भविष्य निर्माण गर्ने सपना बोकेर क्यानडा आएका एक नेपाली विद्यार्थीको अकालमै दुःखद् निधन भएको छ। नेपाल घर भएका २२ वर्षीय विद्यार्थी लियन गुरुङको गत १८ मे २०२६ का दिन क्यानडाको ओन्टारियोमा दुःखद् निधन भएको हो।
आफ्नो उज्यालो भविष्यका लागि सङ्घर्ष गरिरहेका युवा विद्यार्थीको यसरी असमयमै जीवन अन्त्य भएपछि क्यानडामा रहेका उहाँका साथीभाइ,आफन्त तथा समग्र नेपाली समुदाय गहिरो शोकमा डुबेको छ।
शव नेपाल पठाउन एनआरएनए क्यानडाको अग्रसरता
यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले अग्रसरता लिँदै शोकाकुल परिवारको सहयोगका लागि औपचारिक अपिल जारी गरेको छ। क्यानडामा भएको यस घटनापछि नेपालमा रहेका स्वर्गीय लियनका परिवारजन यतिबेला असह्य पीडामा छन्।
आफ्नो प्रिय छोराको पार्थिव शरीरलाई कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कारका लागि क्यानडाबाट नेपाल ल्याउन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्ने क्रममा परिवारले ठुलो आर्थिक भार व्यहोर्नुपरेको छ। अन्तर्राष्ट्रिय रूपमा शव स्थानान्तरण (Repatriation) गर्दा लाग्ने खर्च निकै महँगो हुने भएकाले एनआरएनए क्यानडाले समुदायलाई गोलबद्ध गर्न लागेको हो।
सहयोग र अभियान साझा गरिदिन अनुरोध
एनआरएनए क्यानडाले यस संवेदनशील र मर्माहत बनाउने कठिन घडीमा क्यानडा तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली समुदाय,साथीभाइ र शुभेच्छुकहरूसमक्ष आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ।
एनआरएनए क्यानडाले जारी गरेको अपिलमा भनिएको छ, “तपाईँहरूको सानो सहयोगले पनि यो दुःखद् समयमा शोकाकुल परिवारका लागि महत्वपूर्ण योगदान पुर्याउनेछ। तसर्थ,सबैमा आर्थिक सहयोग गर्नुका साथै आफ्नो व्यक्तिगत तथा सामाजिक सञ्जाल (Network) मार्फत यो पुण्य सहयोग अभियानलाई बढीभन्दा बढी साझा (Share) गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।”
एनआरएनए क्यानडाले स्वर्गीय लियन गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। तलको लिङ्कमा गएर तपाईले पनि सहयोग गर्न सक्नु हुनेछ।
https://gofund.me/06a1d967b
Non-Resident Nepali Association – NRNA
NRNA Canada
प्रतिक्रिया