शीतलपाटीन्युज डटकम।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार सभापति पदमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन्। लामिछानेले वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहलाई प्रस्तावक राखेर मनोनयन दर्ता गराएका थिए।
मनोनयन दर्तापछि लामिछाने र शाह निर्वाचन आयोग सचिवालयको बरन्डामा उपस्थित भई प्रतिनिधिहरूलाई अभिवादन गरेका थिए।
यसैबीच,रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ। संशोधित निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता,दाबी–विरोध,जाँचबुझ तथा उम्मेदवारी फिर्तासम्बन्धी प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी तेस्रो संशोधित कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशनसँगै मौन अवधि सुरु भएको छ। बुधबार बिहानदेखि केन्द्रीय सदस्य पदका लागि मतदान हुने जनाइएको छ।
मतदान सम्पन्न भएको दुई घन्टापछि मतगणना सुरु गरी परिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ । पहिलो चरणको परिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।
संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। तीमध्ये ९९ जना निर्वाचन मार्फत चयन हुने व्यवस्था छ।
प्रतिक्रिया