GNNNEWS-
लन्डन – अन्तरराष्ट्रिय योग दिवस (२१ जुन) का अवसरमा इङ्ग्ल्यान्डको डेभोनस्थित सुन्दर समुद्री सहर टोर्कीमा आयोजित योग कार्यक्रममा करिब ३० जना योग साधकहरूले सहभागिता जनाएका छन्।

अल्डरशटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर (एससीसीसी) का पुर्व अध्यक्ष रोहित गुरुङ,उपाध्यक्ष सुषमा गुरुङ, सहकोषाध्यक्ष शर्मिला दक्चु गुरुङ तथा कार्यसमिति सदस्यहरू पनि उक्त कार्यक्रममा सहभागी भएका थिए।
पण्डित मधुसुदन सत्यालले योग शिविरको सफल समापनका लागि आशीर्वचन प्रदान गरेका थिए।

टोर्कीको रमणीय समुद्री किनार नजिकको पार्कमा खुला वातावरणमा हठ योग,ध्यान,ईशा योग तथा पतञ्जलि योगको समन्वित अभ्यास गरिएको थियो।
अन्तरराष्ट्रिय योग प्रशिक्षक अर्चना थापा र योग गुरु मेघ गुरुङले सहभागीहरूलाई योग दर्शन तथा विभिन्न योग क्रियाबारे प्रशिक्षण दिएका थिए।
स्वयंसेवक शान्त गुरुङले कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याए भने बालबालिका संस्कार,साइरा र साहिलको सहभागिता पनि उल्लेखनीय रहेको थियो।
योग गुरुआमा अर्चना थापाको नेतृत्वमा पैग्नटन नेपाली समाजका सुवीर तथा सम्पूर्ण टोलीले योग साधकहरूलाई स्वागत तथा समन्वय गरेका थिए।
शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको तर्फबाट सबै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
सामाजिक संस्था‘हाम्रो स्वाभिमान यूके’का अध्यक्ष रोहित गुरुङले भने,“दुई दिने योग रिट्रिटपछि हामी सबै आध्यात्मिकता र ध्यानको सकारात्मक अनुभूतिसहित फर्किएका छौँ। हाम्रो यात्रा अत्यन्तै सुखद र अविस्मरणीय रह्यो।”
उनले थपे, “हामी उत्कृष्ट योग प्रशिक्षकहरू तथा उत्साहपूर्वक सहभागिता जनाउने सबै सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”
गुरुङले टोर्कीको प्रशंसा गर्दै भने,“प्रसिद्ध लेखिका अगाथा क्रिस्टीको जन्मथलो टोरक्वे तथा ‘इङ्ग्लिस रिभिएरा’ (अर्थात् इङ्ग्ल्यान्डको गङ्गा,यमुना र सरस्वती) साँच्चिकै अद्भुत अनुभव रह्यो।”
दक्षिण–पश्चिम इङ्ग्ल्यान्डको डेभोनमा अवस्थित टोर्की इङ्ग्लिस च्यानलको किनारमा रहेको एक लोकप्रिय समुद्री पर्यटकीय सहर हो। बाबाकोम्ब र ओडिकोम्बजस्ता आकर्षक समुद्री तटहरूका लागि परिचित यस क्षेत्रको तटीय रेखालाई ‘इङ्ग्लिस रिभिएरा’ भनेर चिनिन्छ।
सहरको केन्द्र नजिक रहेको टोरकी हार्बरमा पसल,क्याफे तथा मरीना रहेका छन्। सन् ११९६ मा स्थापना भएको ऐतिहासिक टोर एबेमा कला दीर्घा तथा विशाल उद्यानहरू रहेका छन्, जहाँ स्थानीय चर्चित लेखिका अगाथा क्रिस्टीका कृतिहरूसँग सम्बन्धित विभिन्न वनस्पतिहरू पनि पाइन्छन्।
प्रतिक्रिया