जनक श्रेष्ठ,
डुम्रे–बेँसीसहर सडकखण्ड हुँदै यात्रा गर्ने जो–कोहीको नजर सडक छेउमा रहेको एउटा पुरानो कुवामा पर्न सक्छ । हतारमा यात्रा गर्नेका लागि त्यो सामान्य पानीको कुवा मात्र हुनसक्छ तर त्यसको मौन गहिराइभित्र १६ औँ शताब्दीको लमजुङ दरबारको इतिहास लुकेको छ । तत्कालीन राजपरिवारको जीवनशैली, बटुवाको यात्राको कथा, स्थानीय समाजको परिवर्तन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जनविश्वास पनि सुरक्षित छ।

अंगजराज घिमीरे
यहाँ कुनै समय रानी वा राजपरिवारले प्रयोग गर्ने कुवा (इनार) थियो । गाउँसहर दरबार आउने–जाने बाटोमा यो पानीको मुख्य स्रोत भएकाले त्यसलाई ‘रानीको कुवा’ भनिन थालियो । यो व्याख्या स्थानीय मौखिक परम्परामा आधारित हो, यसलाई पुष्टि गर्ने शिलालेख वा आधिकारिक इतिहास हालसम्म उपलब्ध छैन । समयले धेरै कुरा फेरिए पनि ‘रानीकुवा’ले इतिहासका ती पदचाप अझै बोकेर बसेको छ। लमजुङको रानीकुवा नामको उत्पत्तिबारे आधिकारिक ऐतिहासिक अभिलेख धेरै उपलब्ध छैन तर स्थानीय जनश्रुति र त्यहाँको ऐतिहासिक परिवेशका आधारमा केही तथ्यहरु फेला पार्न सकिन्छ ।
बेँसीसहर नगरपालिका–३ (साविक गाउँसहर गाउँ विकास समिति) मा अवस्थित रानीकुवाअन्तर्गत पर्ने बस्ती हो । गाउँसहर क्षेत्र तत्कालीन लमजुङ राज्यको महत्वपूर्ण ऐतिहासिक केन्द्र मानिन्छ । यही क्षेत्रमा पुरानो दरबार, प्रशासनिक संरचना र धार्मिक स्थलहरू रहेकाले रानीकुवा पनि त्यही ऐतिहासिक परिवेशको एउटा हिस्सा भएर विकसित भएको देखिन्छ”। रानीकुवा केवल एउटा बस्ती मात्र नभई गाउँसहर प्रवेशको महत्वपूर्ण विन्दु हो। हालको नगर योजनामा पनि गाउँसहर,काउलेपानी,पुरानोकोट गढी र नाल्मा जाने प्रवेशद्वार रानीकुवामा निर्माण गरिएको उल्लेख छ ।
लमजुङ दरबारसँग जोडिएको यो कुवा स्थानीय जनश्रुतिअनुसार तत्कालीन राजा यशोब्रह्म शाहको पालामा निर्माण गरिएको मानिन्छ। दरबारमा रहेका रानीहरूका लागि सुरक्षित खानेपानी तथा स्नानको व्यवस्था गर्न कुवा खनाइएको विश्वास गरिन्छ । यही कारण यसको नाम ‘रानीकुवा’ रहन गएको स्थानीयहरूको भनाइ छ। स्थानीय जनश्रुतिअनुसार लमजुङ दरबार र तत्कालीन बसोबासको शैलीसँग गाउँसहर र बेँसीसहरको नामसमेत जोडिएको पाइन्छ। गर्मी याममा माथिल्लो क्षेत्रमा र जाडो याममा बेँसी क्षेत्रमा बसोबास गर्ने चलनका कारण यी नाम प्रचलनमा आएको स्थानीयहरू बताउँछन्। पछि बेँसी क्षेत्रमा बस्ती विस्तार हुँदै जाँदा बेँसीसहरको पहिचान विकसित भएको मानिन्छ।
स्थानीय बूढापाकाहरूका अनुसार कुनै समयमा राजपरिवार वा दरबारका मानिसहरूले प्रयोग गर्ने पानीको कुवा यहाँ भएकाले त्यसको नाम रानीकुवा रहन गएको भन्ने जनश्रुति प्रचलित छ । यद्यपि,यसलाई पुष्टि गर्ने प्रमाणित ऐतिहासिक दस्तावेज हालसम्म सार्वजनिक रूपमा भेटिँदैन । ८६ वर्षीय स्थानीय बासिन्दा माधवप्रसाद घिमिरेका अनुसार सुरुमा रानीकुवा राजपरिवारको प्रयोगका लागि सीमित थियो। समयसँगै आसपास बस्ती विस्तार भयो र स्थानीयले पनि यही कुवाको पानी प्रयोग गर्न थाले । आधुनिक खानेपानीको व्यवस्था भएपछि यसको प्रयोग घटे पनि ऐतिहासिक महत्व भने कायमै रहेको उहाँ बताउनुहुन्छ।
स्थानीय इतिहासका जानकार अङ्गराज घिमिरेका अनुसार अहिले सडक रहेको स्थानमा पहिले गोरेटो बाटो थियो । त्यस बाटोमाथि रहेको ‘रानी चौतारा’ मा यात्रुहरूले विश्राम गर्थे र यही कुवाको पानी पिउँथे। उहाँका अनुसार रानीहरू पनि यही क्षेत्रमा आउने, स्नान गर्ने र कुवाको पानी प्रयोग गर्ने गर्थे। त्यसैले रानीकुवा केवल पानीको स्रोत नभई तत्कालीन राजकीय जीवन र स्थानीय समाजबीचको सम्बन्धको जीवित साक्षी हो। घिमिरेका अनुसार राजा यशोब्रह्म शाहलाई लमजुङ ल्याउन कुसम्माखरलाई लमजुङका छ थरले अगुवा गर्न आग्रह गरेअनुसार उहाँले यशोब्रह्मलाई ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। तीमध्ये कुस्माखर घिमिरेको योगदान विशेष रहेको स्थानीय इतिहास र जनश्रुतिमा उल्लेख पाइन्छ। ज्योतिष,राजनीतिक ज्ञान र दूरदर्शिताका कारण परिचित कुस्माखर घिमिरे राष्ट्रिय झण्डाको प्रारम्भिक परिकल्पनासँग समेत जोडिने व्यक्तित्व भएको उहाँको भनाइ छ।
नेपाल एकीकरणअघि प्रयोगमा रहेको १२ कुना भएको सूर्य र आठ कुना भएको चन्द्र अङ्कित झण्डाको प्रारम्भिक स्वरूपको परिकल्पनामा उहाँको भूमिका रहेको स्थानीय जनश्रुतिमा पाइन्छ । लमजुङ दरबार संरक्षण समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार रानीकुवा र लमजुङ दरबारलाई अलग गरेर हेर्न सकिँदैन । दरबारको इतिहास बुझ्न रानीकुवाको संरक्षण पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाइ छ। उहाँका अनुसार इतिहासको संरक्षण केवल पुराना संरचना जोगाउनु मात्र होइन,त्यससँग जोडिएका तथ्य,जनश्रुति,संस्कृति र सामूहिक स्मृतिलाई भावी पुस्तासम्म पु¥याउनु पनि हो।
पर्याप्त संरक्षणको अभाव,प्राकृतिक क्षय तथा बढ्दो मानवीय चापका कारण रानीकुवासहित दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको मौलिकता जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ। दरबार, रानीकुवा,रानी चौतारा तथा आसपासका सम्पदालाई समेटेर दीर्घकालीन संरक्षण,व्यवस्थापन र पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको अध्यक्ष बोहोराले बताउनुभयो। लमजुङ दरबार ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदा हो। यसको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारसहित विभिन्न निकायबाट पहल भइरहेको उहाँ बताउनुहुन्छ ।
रानीकुवा गाउँसहर दरबार जाने मार्गमा पर्ने भएकाले यो स्थान तत्कालीन लमजुङ राज्यसँग सम्बन्धित हुनसक्ने स्थानीय विश्वास छ। सरकारी विकास योजनाका कागजातहरूमा पनि रानीकुवा–ऐतिहासिक गाउँसहर दरबार सडकको उल्लेख पाइन्छ,जसले यस क्षेत्रको ऐतिहासिक सम्बन्धलाई सङ्केत गर्छ। दरबार क्षेत्रमा रहेको ऐतिहासिक धारासँग पनि स्थानीय जनविश्वास जोडिएको छ । अहिले पनि चैतेदसैँ र फूलपातीका अवसरमा दरबारमा लाग्ने मेलामा सहभागी हुनुअघि उक्त धारामा स्नान गरेर जाने परम्परा रहेको अध्यक्ष बोहोरा बताउनुहुन्छ।
स्थानीय तहले पनि रानीकुवाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ। वडाध्यक्ष चित्रबहादुर दनाईका अनुसार रानीकुवा क्षेत्रको सौन्दर्यीकरण र प्रवद्र्धनका लागि केही वर्षअघि करिब रु छ लाखको लागतमा रानीपार्क निर्माण गरिएको थियो। यसको संरक्षण,ऐतिहासिक अध्ययन र पर्यटन प्रवर्द्धनका लागि थप पहल भइरहेको उहाँ बताउनुहुन्छ। रानीकुवा,लमजुङ दरबार र आसपासका ऐतिहासिकस्थललाई एउटै पर्यटन परिपथका रूपमा विकास गर्ने सोच रहेको उहाँको भनाइ छ।
यसैबीच ऐतिहासिक परिसरमा अहिले कुस्माखर घिमिरेको शालिक निर्माण अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय प्रतिष्ठान समितिका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार स्थानीय स्वर्गीय डिल्लीराज घिमिरेको सम्झनामा उहाँकी धर्मपत्नी हिमादेवी घिमिरे तथा छोराहरू गुणराज घिमिरे र तोयाराज घिमिरेसहित परिवारले चार आना जग्गा उपलब्ध गराएका छन्। गण्डकी प्रदेश सरकारको रु १५ लाखको बजेटमा निर्माण भइरहेको शालिकको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार भक्तपुरमा निर्माण गरिएको शालिक रानीकुवा परिसरमा ल्याइसकिएको छ र उपयुक्त मिति छनोट गरी स्थापना गरिनेछ। कुस्माखर घिमिरेको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म चिनाउने उद्देश्यले शालिक निर्माण गरिएको उहाँ बताउनुहुन्छ।
अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार रानीकुवा र यसको आसपासको क्षेत्र पुरातात्त्विक दृष्टिले महत्वपूर्ण छ। त्यसैले पुरातत्व विभागसँग समन्वय गरी यसको संरक्षण,अध्ययन,अभिलेखीकरण र प्रचारप्रसारलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। रानीकुवा आज केवल एउटा पुरानो कुवा होइन,यो लमजुङको इतिहास,जनविश्वास,राजपरम्परा,स्थानीय जीवन र सांस्कृतिक पहिचानको जीवित साक्षी हो । यसको छेउमै निर्माणाधीन कुस्माखर घिमिरेको शालिकले इतिहासका अर्का पात्रलाई नयाँ पुस्तासँग परिचित गराउने प्रयास गरिरहेको छ ।
रानीकुवा,लमजुङ दरबार,रानी चौतारा,ऐतिहासिक धारा र कुस्माखर घिमिरेसँग जोडिएका सम्पदालाई एउटै संरक्षण र पर्यटन परिपथका रूपमा विकास गर्न सकिएमा यसले लमजुङको इतिहासलाई मात्र होइन,नेपालको सांस्कृतिक पर्यटनलाई पनि नयाँ आयाम दिन सक्ने बताइएको छ। इतिहासका यस्ता सम्पदाहरू ढुङ्गा,माटो वा पानीका संरचना मात्र होइनन्,तिनले एउटा समाजको स्मृति,पहिचान र निरन्तरताको कथा बोकेका हुन्छन्। रानीकुवाले आज पनि त्यही इतिहासको मौन साक्षी बनेर भविष्यलाई अतीतसँग जोडिरहेको छ।
(रासस)
प्रतिक्रिया