सुरेश कोईराला,
काठमाण्डौ।
चितवन। पर्वतका अर्जुन श्रेष्ठ सन् २००४ मा बेल्जियम पुगेका थिए। त्यसअघि उनी नेपालमै औषधि व्यवसाय गर्दै आएका थिए। सन् १९९७ देखि औषधि व्यवसायमा सक्रिय श्रेष्ठले देशमा सशस्त्र द्वन्द्व चर्किँदै गएपछि प्रवास रोजे।
बेल्जियम पुगेपछि उनले व्यवसायलाई निरन्तरता मात्र दिएनन्, विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै गए। सुपरमार्केटबाट सुरु भएको उनको व्यवसाय जापानी रेस्टुरेन्ट,ट्राभल एजेन्सी,रेमिटेन्स हुँदै होटल व्यवसायसम्म पुग्यो। हालसम्म उनले बेल्जियममा २८ वटा व्यवसायमा लगानी गरिसकेका छन्। अहिले त्यहाँ उनको तीनतारे होटल र चारवटा रेस्टुरेन्ट सञ्चालनमा छन्।
व्यवसायसँगै श्रेष्ठ गैरआवासीय नेपाली संघको अभियानमा पनि सक्रिय भए। सन् २००९ देखि संघका विभिन्न जिम्मेवारी सम्हालेका उनले युरोप संयोजक, सचिव र उपाध्यक्षको जिम्मेवारीसमेत पूरा गरे। अहिले उनी एनआरएनएका सल्लाहकार छन्।
प्रवासमा कमाएको सीप, अनुभव र पुँजीलाई जन्मभूमिमा लगानी गर्ने उद्देश्यले भने उनले पछिल्लो समय बेल्जियमका व्यवसाय घटाउँदै नेपालमा स्वास्थ्य क्षेत्रमा लगानी थालेका छन्।
हाल उनी ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड’का अध्यक्ष छन्। चितवनमा रहेको उक्त उद्योगले हालसम्म ५५ प्रकारका औषधि बजारमा पठाइसकेको छ। थप २१ प्रकारका औषधि उत्पादनको तयारी भइरहेको छ। भविष्यमा १४० प्रकारका औषधि उत्पादन गर्ने उद्योगको योजना छ।
नेपालमा औषधिको आयात घटाउँदै स्वदेशी उत्पादन बढाउने र भविष्यमा नेपाली औषधि विदेशमा निर्यात गर्ने श्रेष्ठको लक्ष्य छ। गैरआवासीय नेपालीको समेत लगानी रहेको उक्त औषधि उद्योग नेपालमै पहिलोपटक आईपीओ जारी गर्ने औषधि उद्योग भएको उनको भनाइ छ।
बेल्जियममा व्यवसाय गर्ने वातावरण राम्रो भए पनि जन्मभूमिमा लगानी गर्दा प्राप्त हुने सन्तुष्टि भने फरक हुने श्रेष्ठ बताउँछन्।
नेपालमै योगदान गर्ने उद्देश्यले उनले बेल्जियमको पासपोर्टसमेत त्यागेका छन्। अहिले उनी नेपाली पासपोर्ट लिएर नेपालमा स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरिरहेका छन्।
प्रतिक्रिया