शीतलपाटीन्युज डटकम।
लन्डन। साझा नेपाली समाज मीडलैण्ड युकेको आयोजनामा बेलायतको मिडल्यान्डमा हुंदै आएको भजन महोत्सवको तेस्रो भजन कार्यक्रम सोमबार भब्य सम्पन्न भएको छ। समाजका अध्यक्ष नारायण फुयांलको अध्यक्षतामा सम्पन्न महोत्सवमा प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी सहभागी हुनु भएको थियो।

आफ्नो सम्बोधनका क्रममा दवाडीले बेलायतमा हरेक वर्ष हुंदै आएको भजन महोत्सवले संस्कृति जगेर्नाको लागि महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरे। यसवर्षको महोत्सवलाई नेपालका बाढीपीडितको सहयोगमा केन्द्रित गरिएकोमा कार्यवाहक राजदूत दुवाडीले धन्यवाद पनि दिए ।

बेलायत नटिङहमको गेडलिङ एन्ड शेरवुड क्रिकेट मैदानमा सम्पन्न महोत्सवमा भजनसंगै भलिवल र मिडल्यान्डस्तरीय क्रिकेट समेत सञ्चालन भएको थियो। महोत्सवबाट संकलन हुने रकमबाट खर्च कटाएर बाँकी सबै रकम नेपालका हालैका बाढीपीडितका लागि पठाइने समाजले जनाएको छ।

समाजका अध्यक्ष नारायण फुयांलले महोत्सव सफल पार्न योगदान गर्ने सबै अतिथि,सहभागी,बेलायतका विभिन्न क्षेत्रबाट आएका भजन टोली,पण्डितहरु,सम्पूर्ण खेलाडी,स्वयमसेवक,कार्यसमिति, ट्रष्टी एवम् सल्लाहकारका साथै मिडल्यान्डका सबै संघसंस्था र समुदायप्रति आभार प्रकट गरे। देशलाई विपद परेका बेला महोत्सवबाट जुटाइएको कोष तत्काल नेपाल पठाइने जानकारी दिंदै उनले सहयोगी सबैलाई धन्यवाद दिए।

कार्यक्रम संयोजक एवम् निवर्तमान अध्यक्ष दीपक सापकोटाले स्वागत मन्तब्य राख्दै नेपालमा आएको भिषण बाढीपछि सिर्जित विपदको अवस्थामा ठूलो अन्योलबीच पनि कार्यक्रम आयोजना गर्न सफल भएको बताउनु भयो।। महिनौं लामो तयारीपछि अन्तिम समयमा महोत्सव स्थगित गर्नुभन्दा निरन्तर राखेर बाढीपीडित सहयोगार्थ समर्पित गरिएको उनले जनाउनु भयो।

भजन महोत्सवको उद्घाटन अवसरमा गैरआवासीय नेपाली संघका केन्द्रीय प्रवक्ता सोम सापकोटा र पूर्व सचिव दयानिधि सापकोटा लगायतले शुभकामना दिनु भएको थियो। बेलायतमा नेपाली कला, संस्कृति र धर्म संरक्षण तथा प्रवर्धनका लागि साझा नेपाली समाजले गर्दै आएको प्रभावकारी पहलको उहाहरुले प्रशंसा गर्नु भएको थियो।।साथै,आउँदा वर्षहरुमा महोत्सवलाई अझै व्यापक र बिस्तार गर्दै जान सुझाव दिनु भएको थियो।
महोत्सवको उद्घाटन समाजका अध्यक्ष नारायण फुयांल, संयोजक एवम् निवर्तमान अध्यक्ष दीपक सापकोटा,गुरु डा चैतन्य तिलकसहित समाजका ट्रष्टीहरुलगायतले दीप प्रज्वलन गरी गरेका थिए। त्सअवसरमा हालैको बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरिएको थियो भने सबै बेपत्ता, घाइते एवम् पीडितहरुको रक्षाको कामनासहित प्रार्थना गरिएको थियो ।
महोत्सवको उद्घाटन सत्र गोविन्द सापकोटा र भजनको सत्र राहुलदेव सापकोटाले सञ्चालन गरेका थिए भने महोत्सवमा आर्थिक संकलनको अभियान ट्रष्टी महेश अधिकारीले संयोजन गरेका थिए। एक हजार भन्दा बढी सहभागी उपस्थित सो मेलामा बेलायतव्यापी भलिबल प्रतियोगितामा युवा र भेटेरान गरी दुई विधामा १५ टीम सहभागी भएका थिए । युवातर्फ ग्रीनवीच भलिबल परिवार र भेटेरानतर्फ स्याङजा समाज यूके विजेता बने।
विजेता टीम तथा खेलाडीहरुलाई प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडी,अध्यक्ष नारायण फुयांल,संयोजक दीपक सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए। महोत्सवमा सहभागी हुन मिडल्यान्डबाट मात्र नभइ लन्डन र आसपासका अरु ठाउँबाट समेत सयौं मानिसहरु नटिङहम भेला भएका थिए । कतिपय स्थानबाट कोच नै बुकिङ गरेर आउनेहरु समेत थिए।
सहभागी सबैलाई आयोजकका तर्फबाट प्रसादको व्यवस्था गरिएको थियो। महोत्सवस्थलमा नेपाली खानासंगै विभिन्न व्यापारीक र सेवाका स्टलसमेत राखिएका थिए। कार्यक्रमका प्रमूख संयोजक दीपक सापकोटा(हिरा),अर्थ संयोजक एवं ट्रष्टी संयोजक महेश अधिकारी,ट्रष्टीज्यूहरू दयानिधि सापकोटा,रण खाति क्षेत्री,गोमा पौडेल,शंकर भन्डारी,केशव भन्डारी,कृष्ण प्रसाद शर्माज्यूको सक्रृयतामा कार्यक्रम सफल पार्न उल्लेख्य योगदानले कार्यक्रम भव्य भएको बताईएको छ।
प्रतिक्रिया