GNNNEWS-
लण्डन । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था,नेपाली जनसम्पर्क समिति बेलायतको विवाद समाधान गरी यथाशिघ्र अधिवेशन गराउने जिम्मा एनआरएनए युकेका पूर्व प्रमुख संरक्षक शेर सुनारलाई दिएको छ।
पार्टी सभापति गगनकुमार थापाले बेलायत समितिभित्र देखिएको पूर्व र वर्तमान पदाधिकारीबीचको गुटगत तिक्तता अन्त्य गरी सर्वस्वीकार्य वातावरणमा अधिवेशन सम्पन्न गराउने कार्यादेशका साथ शेरबहादुर सुनारलाई संयोजकको जिम्मेवारी सुम्पिएका छन्।
सभापति थापाले यही असोज १० गते (२६ सेप्टेम्बर) भित्रै बेलायत समितिको महाधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएका छन्।
पत्रमा वर्तमान र भूतपूर्व समितिका सबै पक्षसँग गहन संवाद, सहकार्य र समन्वय स्थापित गरी रोकिएको सदस्यता वितरणलाई पारदर्शी ढंगले सम्पन्न गराउन पनि सुनारलाई निर्देशन दिइएको छ।
पार्टीले अंगीकार गरेको नयाँ राजनीतिक दिशा र संगठन सुदृढीकरणको अभियानअन्तर्गत विदेशस्थित प्रवास संगठनलाई अनुशासित,गतिशील र परिणाममुखी बनाउन सुनारको नेतृत्व निर्णायक हुने विश्वास कांग्रेस मुख्यालयले लिएको छ।
पत्र पाए पछि सुनारले समय छोटो भएकाले २६ सेप्टेम्बर भित्रै अधिवेशन गर्न त्यति सहज नभएको जनाए। “सबै साथीहरुसंग सरसल्लाह गरी जतिसक्दो चाडो अधिवेशन गर्न मैले पहल सुरु गरिसकेको छु,” उनले भने।
थुप्रै सामाजिक संघसंस्था संग जोडिएका भूतपूर्व गोर्खा सुनार मृदुभाषी तथा सबैसंग मिलेर काम गर्न सक्ने अभियन्ताको रुपमा पनि चिनिन्छन्।

प्रतिक्रिया