समाचार
|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा|नेपाली साहित्य विकास परिषद् युकेको १५औँ कार्यकारिणी समिति चयन|नेकपा एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुदै, अध्यक्षमा प्रभु थापा निश्चित

हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा

  शीतलपाटीन्युज डटकम | २३ आश्विन २०८३, शुक्रबार ०२:००

शीतलपाटीन्सुज डटकम।
स्कटलैण्ड। आज ७ अक्टोबर,२०२३ मा आजकै दिन इजरायलमा हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपाली विद्यार्थीहरूको कारुणिक,नेपाली इतिहासकै एउटा सबैभन्दा कालो र बिर्सन नसकिने घटना भएको दिन। यस बीभत्स घटनाले पूरा तीन वर्ष पार गरिसकेको छ। इजरायलको किबुज अलुमिम क्षेत्रमा कृषि विषय अध्ययनका लागि गएका १० जना जेहेन्दार नेपाली विद्यार्थीहरूले अकल्पनीय रूपमा ज्यान गुमाएका थिए भने कञ्चनपुरका युवा बिपिन जोशीलाई हमासले बन्दी बनाएर लगेको थियो। दुई वर्षसम्मको अनिश्चितता,आशा र पर्खाइपछि अन्ततः अक्टोबर २०२५ मा इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताका क्रममा बिपिन जोशीको मृत शरीर मात्र नेपाल फर्काइएको थियो। हमासको कैदमा रहँदा सुरुवाती महिनामै उनको हत्या भइसकेको तथ्य पछि मात्र खुल्यो। तीनै वर्ष अघिको त्यो कालो दिन, सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ (Learn and Earn) कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपाली युवाहरूको सपना छिन्नभिन्न भएको र बिपिन जोशीको सौर्य निमिट्यान्न भएको थियो।

७ अक्टोबरको त्यो कालो दिन सपनाहरूको अवसान भएको दिन। सुन्दर भविष्यको खोजी र इजरायलको यात्रा अन्त भएको दिन। नेपालको सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान पढ्दै गरेका १७ जना नेपाली विद्यार्थीहरू एक सुनौलो सपना बोकेर इजरायल प्रस्थान गरेका थिए। इजरायलको आधुनिक कृषि प्रविधि सिक्ने, केही आर्थिक आर्जन गर्ने र फर्केर आफ्नै देशमा आधुनिक कृषिको क्रान्ति गर्ने उनीहरूको साझा उद्देश्य थियो। उनीहरूलाई दक्षिणी इजरायलको गाजा पट्टी नजिकै रहेको ‘किबुज अलुमिम’ नामक कृषि फार्ममा खटाइएको थियो। काम सुरु गरेको जम्मा तीन हप्ता मात्र भएको थियो,जहाँ उनीहरू नयाँ वातावरणमा भिज्दै थिए। तर,नियतिले उनीहरूका लागि अर्कै क्रूर पाना पल्टाएर राखिदिएको थियो।

तीन वर्ष अघि आजकै दिन बिहान सबेरै गाजा पट्टीबाट हमासका लडाकूहरूले इजरायलमाथि हज्जारौँ रकेट प्रहार गरे र जमिन, समुद्र तथा आकाश मार्गबाट इजरायली बस्तीहरूमा घुसपैठ गरे। किबुज अलुमिममा रहेका नेपाली विद्यार्थीहरू ज्यान जोगाउन एउटा सानो बंकर (सेल्टर) भित्र लुक्न बाध्य भए। बाहिर बम र गोलीको आवाज गुञ्जिरहेको थियो। बंकरभित्र त्रास फैलिरहेका बेला हमासका सशस्त्र लडाकूहरूले उनीहरू लुकेको ठाउँ पत्ता लगाए। लडाकूहरूले बंकरभित्र अन्धाधुन्ध गोली चलाउनुका साथै भित्रै बम (ग्रेनेड) फाले। त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको घटनास्थलमै र केहीको उपचारका क्रममा दुखद निधन भयो। ज्यान गुमाउनेहरूमा नेपालका विभिन्न जिल्लाका होनहार युवाहरू,नारायणप्रसाद न्यौपाने,गणेशकुमार नेपाली, आशिष चौधरी,दिपेशराज विष्ट,आनन्द साह,राजेशकुमार स्वर्णकार,राजन फुलारा,पदम थापा,प्रवेश भण्डारी र लोकेन्द्रसिंह धामी थिए। ती युवाहरू,जसले भर्खरै मात्र जीवनको यात्रा सुरु गरेका थिए,एकै क्षणमा युद्धको सिकार बने।

त्यस डरलाग्दो आक्रमणका बीच कञ्चनपुरका २३ वर्षीय विद्यार्थी बिपिन जोशीले अदम्य साहस प्रदर्शन गरे। हमासका लडाकूहरूले बंकरभित्र दुईवटा ग्रेनेड फालेका थिए। तीमध्ये एउटा ग्रेनेडलाई बिपिनले आफ्नो ज्यानको प्रवाह नगरी तत्कालै समातेर बंकरबाहिर फालिदिए। बिपिनको यो साहसिक कदमका कारण अर्का नेपाली विद्यार्थी धनबहादुर चौधरी लगायत केही साथीहरूको ज्यान जोगियो। तर,बिपिनले दोस्रो ग्रेनेड बाहिर फाल्न भ्याएनन्, जसका कारण केही साथीहरू घाइते भए। घाइते साथीहरूको उद्धारमा जुटिरहेकै बेला हमासका लडाकूहरू बंकरभित्र छिरेर बिपिन र केही थाई नागरिकहरूलाई बन्दुकको प्रहार गर्दै नियन्त्रणमा लिए। लडाकूहरूले बिपिनलाई लछारपछार पार्दै गाजा तर्फ लगे। पछि सार्वजनिक भएका केही भिडियो फुटेजहरूमा बिपिनलाई हमासका लडाकूहरूले गाजाको अल-शिफा अस्पतालमा घिसार्दै लगेको देखिएको थियो,जसले उनी जीवितै बन्दी बनाइएको पुष्टि गर्थ्यो। दुई वर्षको अन्तहीन पर्खाइ र कूटनीतिक प्रयासले बिपिनलाई बचाउन सकेन। बिपिनको अपहरणपछि नेपालमा रहेका उनका बुबा महानन्द जोशी,आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीको जीवन आँसु र कूटनीतिक ढोका चहार्दैमा बित्यो। नेपाल सरकार,इजरायल सरकार,कतार,मिश्र (इजिप्ट) र संयुक्त राष्ट्रसंघसम्म बिपिनको रिहाइका लागि गुहार मागियो। बिपिनकी आमा र बहिनीले संयुक्त राष्ट्रसंघको महासभा र इजरायल पुगेर आफ्नो छोराको जीवन रक्षाका लागि कूटनीतिक पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। नेपालका सञ्चारमाध्यम र नागरिक समाजले पनि ‘बिपिन जोशी रिहाई’ को अभियान निरन्तर चलाइरहे। हरेक पटक इजरायल र हमासबीच बन्दी रिहाइको कुरा चल्दा जोशी परिवारमा आशाको सञ्चार हुन्थ्यो। सन् २०२४ र २०२५ को मध्यसम्म पनि बिपिन जीवितै फर्कने आशामा परिवारले बाटो हेरिरह्यो।

यस्तैमा अक्टोबर २०२५ ले दुखद सत्यको उजागर भयो, बिपिनको शहादत र घर फिर्ती। तर,नियति झन् क्रूर सावित भयो। अक्टोबर २०२५ मा अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच भएको ठुलो युद्धविराम सम्झौताका क्रममा हमासले जीवित बन्दी र केही मृत शरीरहरू बुझायो। १३ अक्टोबर २०२५ का दिन इजरायली सेना (IDF) ले डिएनए (DNA) परीक्षणका आधारमा हमासले बुझाएका शवहरूमध्ये एउटा शव बिपिन जोशीको भएको पुष्टि गर्‍यो। इजरायली अधिकारीहरूका अनुसार बिपिनको अपहरण भएको सुरुवाती महिनाहरूमै (सन् २०२३ को अन्त्यतिर) हमासको कैदमा रहँदा टाउकोमा गोली हानी हत्या गरिएको थियो। २० अक्टोबर २०२५ मा बिपिन जोशीको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौँ ल्याइपुर्‍याइयो। तत्कालिन प्रधानमन्त्रीले विमानस्थलमा पुगेर बिपिनको कफिनमा नेपालको राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरे। दुई वर्षसम्म छोरा जीवितै फर्कने आशामा बसेकी आमा पद्मा र बुबा महानन्दका अगाडि छोराको लास मात्र पुग्यो, जसले सिंगो देशलाई नै स्तब्ध बनायो। उनको शवलाई सुदूरपश्चिम लगि महाकाली नदीको तटमा अन्तिम संस्कार गरियो।

आज ७ अक्टोबर २०२६ मा यस त्रासदीको तीन वर्ष पुग्दा पनि ती १० जना मृतक विद्यार्थीहरू र सहिद बिपिन जोशीको सम्झना नेपालीहरूको मानसपटलमा उत्तिकै ताजा र पीडादायी छ। बिपिन जोशीले आफ्नो ज्यान जोखिममा हालेर साथीहरूको ज्यान जोगाउन प्रदर्शन गरेको वीरताका कारण उनलाई सधैँ नेपालको एउटा वीर सुपुत्रका रूपमा स्मरण गरिनेछ।

यस घटनाले नेपाल सरकारलाई वैदेशिक रोजगारी वा अध्ययनमा जाने नेपाली नागरिकहरूको सुरक्षा, युद्धग्रस्त क्षेत्रहरूबाट तत्काल उद्धार गर्ने कूटनीतिक संयन्त्रको सबलीकरण र नागरिकको जिउज्यानको रक्षाका लागि कति संवेदनशील हुनुपर्छ भन्ने ठुलो पाठ सिकाएको छ। ती निर्दोष नेपाली युवाहरूको असमयमै अस्ताएका सपनाहरू र उनीहरूका परिवारले भोगेको कहिल्यै निको नहुने घाउले विश्वमा शान्तिको महत्त्व र युद्धको विभिषिकालाई दर्साउँछ। ७ अक्टोबरको यो दिन इतिहासमा सधैँ एउता गहिरो शोक र नेपाली युवाहरूको बलीदानीको प्रतीकका रूपमा रहिरहनेछ। सबैको जय होस्।
समाचार-
माधव शरण, स्कटलैण्ड।
——————————

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ