शीतलपाटीन्युज डटकम।
चुलाको अर्थ र सम्बन्ध-
किरात राई समुदायको सांस्कृतिक जीवनमा विशेष महत्त्व छ तीन चुलाको। तीन चुला केवल खाना पकाउने साधन मात्र होइनन्, यो त सांस्कृतिक एवं आध्यात्मिक विश्वास पनि हो आफ्ना पुर्खाको स्मृति,मातृशक्ति र इष्टमित्र तथा नातागोतासँगको सम्मान। तीन चुलाको नाम र व्याख्या फरक भए पनि जरा हो पुर्खा, परिवार, संस्कार,संस्कृति र सामाजिक सम्बन्धसंग गाँसिएको साझा धागो। मुन्दुमी परम्परामा बुझ्ने गरिन्छ पापालुङ- पितृपुर्खा तथा वंशको प्रतीक,मामालुङ- आमा तथा मातृपक्षका पुर्खाहरूको प्रतीक र रुमिलुङ (छेकुलुङ वा साबालुङ)- इष्टमित्र, छरछिमेक, नातागोता तथा सामाजिक सम्बन्धको प्रतीकका रूपमा। नाम तथा व्याख्या फरक भए पनि साझा भाव बोकेको छ तीन चुलाले सम्बन्ध जोड्ने संस्कारको महत्व।

यही तीन चुलाको सांस्कृतिक अर्थलाई मनन गर्दा मलाई हामी तीन आत्मीय पात्रहरूको सम्झना आउँछ-मुकेश दाजु, मित्र भरत अनि म,सेमन्त। हामी तीनै जना बेलायतमा छौँ,तर तीन फरक ठाउँमा। मुकेश दाजु अल्डरसट–फार्नबरो,भरतजी स्विन्डन र म मेडस्टोनमा। भौगोलिक दूरीले हामीलाई तीनतिर छरेको छ, तर आत्मीयताले भने एउटै अगेनाको तिन चुला। हामी तीन चुलाजस्तै तर चाहना नहुँदा नहुँदै तीनतिर छरिएर एउटै अगेनामा जुटेर आत्मीयताको आगो बाल्न निरन्तरता दिन नसकेको। तर मनभित्र एउटा विश्वास भने जीवित छ-दूरीले बसाई अलग बनाए पनि आत्मीयता भने बनेको छ झन् गाढा।
व्यस्तता र भेटघाट-
गाँजेको छ बेलायती जीवनको व्यस्तताले, बाँधिएको छ जिन्दगी जिम्मेवारी र समयको सीमाभित्र। सम्भव हुदैन ईच्छा हुँदाहुँदै पनि भेट्ने समय मिलाउन। बाध्यता छ;एउटै देशमा बसेर पनि आत्मीय मानिसहरूसँग भेट्न महिनौं कुर्नुपर्ने। अवस्था यस्तै छ हामी तीन जनाको। आ-आफ्ना परिवार,काम र दैनिक जिम्मेवारीबीच भेटघाटको चाहना हुँदाहुँदै,चाहे जस्तो नियमित पारिवारिक जमघटको साईतै हेर्नु पर्ने कस्तो बिडम्बना। बासी भएको थियो तीन चुलामा आगो बाली अगेना वरिपरी बसेर जीवनयापनका उतार चढावहरु,जीवन यात्राका तिता मीठा स्वादहरु साटासाट गर्ने, साहित्यका कुरा गर्ने अतृप्त चाहना।
आत्मीयताको निरन्तरता-
७ जुलाई २०२४ मा शेक्सपियरको जन्मस्थल “स्ट्राटफोर्ड अपन–एभन” बाट सुरु भएको हाम्रो संयुक्त यात्रा १५ सेप्टेम्बर २०२४ मा अघि बढ्यो लन्डनस्थित शेक्सपियरको “द ग्लोब” थिएटरमा दोस्रो भेटघाटसँगै। त्यसपछि निरन्तरता दिनुपर्ने सम्बन्धमा हरायौँ भरतजि र म चुपचाप। तर मुकेश दाजु र दिदी सुशीलाले त्यो आत्मीयता बिर्सनुभएन;सबैलाई समेट्दै १ जुन २०२५ मा पुनः भेटघाटको पहल गर्नुभयो आफ्नैं निवासमा। २०२६ सालको समर सकियो तर भरत र सेमन्तले चासो नदेखाउँदा दाजु दिदीकै सद्भावपूर्ण पहलले जुटायो हामीलाई एउटै अगेनामा। लज्जावती झारले झैँ शिर निहुरिँदै,मनभरि खुसी बोकेर खानपिन र हाँसोमा रमाइरहँदा त अनुभूत हुन थालेको थियो त्यहि पो रहेछ पापालुङको मूलघर, मुल चुला।

तीन चुला एउटै अगेनामा-
तीन चुलाका लागि एउटा विशेष दिन बनेर आयो अक्टोबर १८, २०२६। मुकेश दाजु र दिदी सुशीलाको सद्भावपूर्ण पहलमा पुनः दोस्रो पटक तय भो अविस्मरणीय भेटघाटको मिती। भेटघाटको तिथि मिति टुंगो लगाउन केहि विकल्पहरुको बाबजुद हामी सबैका लागि जुर्यो दिन। तीन चुलाको मिलन हुने साईतको दिन तोकिए पछि विदा मिलाउन भनें मैले श्रीमतीलाई। आवेदन दीईन्, स्विकृत भो उनको विदा कस्तो संयोग। भरत जिलाई भने दबाब नै दिए जस्तो भो जसरी पनि छुट्टी मिलाउनु भनेर, मन जितेकै भरमा। त्यसैले त उक्त दिन फेरि रमाईलो भेटघाट हुने निश्चित भो सपरिवार तीन चुलाको।
१८ अक्टोबरको विहान,हामी थियौं उत्साहित,बाटो लाग्यौं। यात्रा झण्डै डेढ घण्टाको हुनाले पर्याप्त समय राखेर लागियो बाटो। उता भरतजि पनि बाटो लागेको कुरा थाहा भयो तर बिडम्बना ढिला हुने जानकारी भो बाटोमा सवारीसाधनको अत्याधिक चाप परेकाले। मिसियो दोश्रो चुला भने समयै मुल घरको अगेनामा अनि भयो प्रतिक्षा तेश्रो चुलाको। त्यतिन्जेल दाजु दिदीको निवासस्थानमा बाबा आमासंग पहिलो पटक परिचय र चिनाजानीको कार्यक्रम भो। डोरबेल बज्यो तेश्रो चुलाको आगमन मुलघरमा। फेरि दोहोरियो उहि अभिवादन र परिचयात्मक कार्यक्रम अनि शुरु भो अनेकानेक कथा कहानीहरु। त्यस दिनको जमघटलाई थप अर्थपूर्ण बनाएको थियो स्थानीय फार्नबरो निवासी विनेसाम पश्चिमा शाखाकि उपाध्यक्ष,साहित्यकार तथा आख्यानकार शान्ति लिम्बूज्यूको उपस्थितिले।
अविच्छिन्न शुरु भयो मुल चुलोमा पाकेका परिकारहरुद्वारा दाजु दिदीको आतिथ्य। हामी कति भाग्यमानी मुल चुलोमा मिसिएर स्वादिष्ट खानापिना अनि मनोरन्जन साथ गफगाफ र हाँसोका लहरसंगै दाजु दिदीको आतिथ्यलाई भक्कु ग्रहण गर्यौं घाँटीसम्म आउन्जेल। विभिन्न परिकारका स्वादसंगै मुकेश दाजुका चरणबद्ध हंस्यौलीले माहोल साँचै नै रमाईलो भो। शनैं शनैं हामी मुकेश दाजु,शान्ति जि,भरत जि,मिरा बहिनि र मेरी श्रीमती रीता खानाको स्वादसंग समसामयिक विषय वस्तु र नेपालको राजनितीका गफमा भुल्यौं,दिदी भने किचनमा ब्यस्त; बिचरा! खानपानको बन्दोवस्त गर्न झमेला हुन्छ,बरु भेटघाट अन्यत्रै गरौं नभनेको पनि हैन तर दाजु दिदीको महानता हामीलाई बोलाईयो मुल घरैमा।

दिनभर हामी जीवनका सुखदुःख,पारिवारिक अनुभव,साहित्य, सिर्जना र विगतसंग जिस्कियौं केहि हदसम्म। भरतजि र मैले केहि प्रयास गर्यौं बाँसुरीका धुनहरु द्वारा थप मनोरन्जन दिन। एक अर्काको कुरा सुन्ने,मनका भावना खोल्ने र आत्मीयता साट्ने त्यो अवसर बन्यो हामी सबैका लागि अनि एक अविस्मरणीय दिन पनि। हामीले एकापसको ब्यक्तिगत पोल खोलाखोल देखि पारिवारिक कुराहरुका बारेमा हाँस्दै हसाउँदै रमाई रह्यौं दिनभर। साँच्चै विशेष बन्यो,आपसी माया,सद्भाव र आत्मीयताले तीन चुलालाई एउटै अगेनामा जोड्दै सम्बन्धमा नयाँ न्यानोपन थप्ने यो सुन्दर अवसर। विभिन्न परिकारको स्वाद,पेय पदार्थ,हाँसो, ठट्टा र रमाइला प्रसङ्गबीच पत्तै भएन दिन बितेको।

सर्जकलाई सम्मान र प्रोत्साहन-
उक्त दिन त म र मेरी श्रीमतीका लागि अझ विषेश रह्यो कारण मेरो भर्खरै प्रकाशित मुक्तक सङ्ग्रह “अँधेरीमा जून” सँग जोडिएको अप्रत्याशित खुसी। मेरो सिर्जनालाई पाठक समक्ष पुर्याउने यात्रामा विषेश महत्व रह्यो परिवार र आत्मीयजनको साथ,सद्भाव र प्रोत्साहन। गत सेप्टेम्बर ५,२०२६ का दिन, स्विनडनमा भएको मेरो मुक्तक सङ्ग्रह “अँधेरीमा जून” विमोचन कार्यक्रममा विषेश कारणबस भरतजिको अनुपस्थितिले खल्लो महसुस भएकै हो; तै पकाई खायौं कोल्टे चुलामा त्यो दिन जसोतसो। तर तीन चुलाको भेट भएको अवसरमा भरतजि र दाजु मुकेशको गोप्य सल्लाह भएछ क्यार हामीलाई बधाई तथा शुभकामना दिने। मन त्यसै पुलकित भो खदा र फूल सहितको सम्मान,शुभकामना र मायाको आशिर्वादले अनि आश्चार्यले चकित पनि। उसै गरी खदा लगाई सम्मान साथ बधाई दिनुभयो साहित्यकार शान्ति जिलाई पनि कविता संग्रह “थेम्सको लहरमा तमोरको स्पर्श” का लागि,एकै साथ बिमोचन भएको थियो मेरो मुक्तक संग्रह र डा.सुमाया दिज्युको “जिन्दगी फूल सम्झे फूलै हो”।
विशेष गरी आदरणीय गीतकार मुकेश दाजु, दिदी र भरत जिको यो सद्भाव मेरा लागि केवल सम्मानको विषय मात्र थिएन; थियो लेखन यात्रामा अघि बढि रहन प्रेरणा र आत्मीय ऊर्जा पनि। सर्जकका लागि आफ्ना सृजनाहरु पाठकसम्म पुग्नु जति महत्त्वपूर्ण हुन्छ,त्यति नै महत्त्वपूर्ण हुन्छन् यस्ता हौसलाहरु। उक्त दिनको सम्मानले महसुस गरायो साहित्य एक्लै लेखिएला तर निरन्तरताका लागि ठूलो भूमिका खेलेको हुन्छ आत्मीयजनको साथ र प्रोत्साहनले। यस आत्मीयताका लागि हार्दिक आभार मुकेश दाजु र दिदी सुशिला,भरत जि प्रति। दिदी सुशीलाको प्रस्ताव थियो-तीन चुलाको भेटघाटलाई नियमित पारिवारिक जमघट बनाउँदै साहित्य,सङ्गीत र जीवनका अनुभव साट्ने सुन्दर परम्परा बसाल्ने,जसले पारिवारिक आत्मीयता बढाउनुका साथै हामी भित्रको सिर्जनात्मक ऊर्जालाई पनि जीवन्त राखोस्।
तीन चुला-
हामी बसेका छौं बेलायतका तीन फरक ठाउँमा। अझ यथावत छ हाम्रो भौतिक दूरी र आ-आफ्नै जिम्मेवारी। एउटा महत्त्वपूर्ण अनुभूति दिएको छ अक्टोबर १८ को भेटघाटले हामीलाई । एउटै आँगनमा भेला हुन सधैँ ठूलो अवसर वा औपचारिक कारण चाहिँदैन; चाहिंन्छ केवल प्रवल इच्छा र भेटघाट्को पहल।
जसरी किराती संस्कृतिमा तीन चुलाले पीतृ पुर्खा, मातृपक्ष र सामाजिक सम्बन्धलाई एउटै सांस्कृतिक आस्थामा जोड्ने अर्थ बोकेको छ,उसै गरि बलियो बनाउन सकौं हाम्रो सम्बन्धलाई पनि। बलिरहोस् पापालुङ्गको अगेनामा बालिएको आत्मीयताको आगो। बलिरहोस् साइनोको ज्वाला मनभरि,चम्किरहोस् आपसको प्रगाढ माया अझ चकिलो बनेर। तीनतिर बसे पनि स्थापित भै रहोस् आत्मीयताको तीन चुला एउटै अगेनामा। पापालुङ,मामालुङ र रुमिलुङको सांस्कृतिक भावना झैँ झल्किरहोस् हाम्रो सम्बन्ध र आत्मियता। किनकि चुलो भनेको केवल आगो बाल्ने ठाउँ मात्र होइन; यो एक पवित्र थान हो जहाँ पितृलाई पुजिन्छ,परिवार, सम्बन्ध र सम्झना जोडिन्छ,अनि संरक्षण र सम्बर्धन गरिन्छ आफ्नो संस्कार र संस्कृतिको। मलाई लाग्छ,तीन चुलाको सांस्कृतिक अर्थ पनि सार्थक हुन्छ यहिं नेर। यो अगेनामा नियमित बलिरहोस् आत्मीयताको न्यानो राप यसरी नै संधै भरि। ईति
(सेमन्त वालाक्पा राई (सेवारा)
संखुवासभा,
हालःयुके,मेड्स्टोन)
प्रतिक्रिया