शीतलपाटीन्युज डटकम।
काठमाडौं। काठमाडौंमा उर्जाशील युवाहरूको सक्रियता र पहलमा शान्ति नेपाली समाज बेलायतको नेपाल शाखा गठन भएको छ। बेलायतबाट आउनुभएका शान्ति नेपाली समाज बेलायतका अध्यक्ष श्री राजेश मणि लामिछानेको अध्यक्षतामा काठमाडौंमा २०८३ कार्तिक १३ गते बसेको भेलाले प्रतिनिधि सभाका सदस्य तथा मानव अधिकारकर्मी मा. साजिदा खातुन सिद्धिकीको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ। महासचिवको रूपमा व्यवस्थापन विज्ञ/योजनाविद् श्री प्रवेश अर्याल चयन हुनुभएको छ।
पुनर्गठित शान्ति नेपाली समाज बेलायत,नेपाल शाखाको नवगठित कार्यसमितिमा उपाध्यक्ष वैदेशिक रोजगार विज्ञ श्री बलराज तामाङ,सचिवमा पर्यटन व्यवसायी श्री कृष्ण आचार्य, कोषाध्यक्षमा वैदेशिक शिक्षा विशेषज्ञ/समाजसेवी श्री नारद सापकोटा, प्रवक्तामा सञ्चारविज्ञ जङ्ग तामाङ,सदस्यमा समाजसेवी श्री चन्द्रशेखर घिमिरे,व्यवसायी श्री सरिता गुरुङ,समाजसेवी श्री सृजना श्रेष्ठ (पोखरा,आईटी विज्ञ श्री नारायण ढकाल (बुटवल),लक्ष्मी कुमारी गिरी चयन हुनुभएको छ।
उक्त अवसरमा नवनियुक्त अध्यक्ष मा. सिद्धिकीले शान्ति नेपाली समाज बेलायतले पटकपटक विपत्तिमा नेपाललाई दिएको साथ, सहयोग,उक्त संस्थाले देशको शिक्षा, पूर्वाधार लगायतमा गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै एक पटकको नेपाली सधैंको नेपालीको महत्वमाथि प्रकाश पार्नुभयो। उपाध्यक्ष बलराज तामाङले शान्ति नेपाली समाज बेलायत जस्ता संस्थाहरू नेपालको विकासको संवाहक बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो। महासचिव प्रवेश अर्यालले शान्ति नेपाली समाज बेलायत नेपाली संस्कार, संस्कृति,देश र विदेशमा जन्मेहुर्केको नयाँ पुस्ताको त्रिवेणी बन्न सक्नेमा विश्वस्त रहेको बताउनुभयो। सचिव कृष्ण आचार्यले पुस्ता नेपाल फर्कनसक्ने सम्यक नेपाली समाज आजको आवश्यकता रहेको बताउनुभयो। कोषाध्यक्ष नारद सापकोटाले एकतिहाई युवा देश बाहिर रहेर नेपाल समुन्नत बन्न नसक्ने र देशले विद्यार्थी विदेश अध्ययन,सीप आर्जन र अनुभवका लागिमात्र पठाएको बताउँदै,वंशजको नागरिकता अपरिहार्य रहेको बताउनुभयो।
सो अवसरमा शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लामिछानेले संस्था एक स्वतन्त्र, गैरनाफामूलक र गैरराजनीतिक, स्वयंसेवी संस्थाको रूपमा अक्टोबर २०१२ मा बेलायत (UK) को मिडल्याण्ड र खासगरी बर्मिङ्घम वरपर बसोबास गर्ने गैरआवासीय नेपालीहरूबीच आपसी भाइचारा,सहयोग र एकता कायम गर्दै नेपाली कला,संस्कृति र पहिचानलाई युगौंयुग जीवन्त राख्ने उद्देश्यले भएको बताउनुभयो। यो संस्था स्थापनाकालदेखि नै नेपाली कला,चाडपर्व,परम्परा,संस्कार,संस्कृति,भेषभूषा,रहनसहन, माटो र नयाँ जेनेरेशनको त्रिवेणी बन्नेमा सदा प्रयत्नशील रहेको निवेदन गर्दै संस्थाले बेलायतभित्रको मिनी नेपालमा नेपाली समुदायको पहिचानका लागि विभिन्न कार्य गरेको उल्लेख गर्नुभयो। आफ्नो मातृभूमि नेपालमा पर्न गएका प्राकृतिक विपत्तिहरूमा नीति कथाको फिस्टाले आफ्नो सानो चुच्चाभरको पानीले विशाल डढेलो निभाउने प्रयत्न गरेजस्तै, आफ्ना भूमिकाहरू अनवरत निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल शाखाको गठनले खासगरी मातृभूमि लक्षित सामाजिक विकासका कार्यक्रमहरूमा सहज हुनेमा संस्था विश्वस्त रहेको बताउनुभयो। उक्त अवसरमा शान्ति नेपाली समाज बेलायतका कार्यवाहक अध्यक्ष निशेन्तमान बज्राचार्य, महासचिव शशांक शर्मा,प्रमुख सल्लाहकार कोशलेश्वर ढकाल, संरक्षक ठाकुर प्रसाद ज्ञवाली लगायतले सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शान्ति नेपाली समाज बेलायतको नेपाल शाखाको कार्यालय कालीमाटीडोल एयरपोर्टमा पुनर्स्थापना समेत गरिएको थियो।
प्रतिक्रिया