२२ बैशाख, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। माया इभेन्ट्सले लन्डनमा माया टी-१० क्रिकेट प्रतियोगिता गर्ने भएको छ। आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा क्रिकेट प्रतियोगिता सहित सांगीतिक कन्सर्ट गर्न लागिएको हो ।
मिडलसेक्सको टप थ्रीभित्र पर्ने उक्त पिचमा ४ टिमबीच १० ओभरको प्रतियोगिता आयोजना गरिने छ। त्यस दिन क्रिकेटसंगै कन्सर्ट,खाना,राष्ट्रिय पोशाकका स्टल एवं बालबालिकाका लागि बाउन्सी क्यासल खेल र आर्ट पेन्टिङ राखेर नेपाली मेलाकै रुप दिइने हाम्रो योजना छ।
नेपाल,अष्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत आउने टी ट्वान्टी खेलिसकेका नेपाली क्रिकेटरहरु सहित बेलायतमा रहेका नेपाली खेलाडी मिलाएर बनाइने टिमबीच प्रतिष्पर्धा हुनेछ। अष्ट्रेलियाबाट सुवास खकुरेलसहित ५ जना, न्यूजिल्याण्डबाट दिनेश खरेल एवं नेपालबाट करण केसी,दीपेन्दसिंह ऐरी,गुल्सन झा,सोमपाल कामी, रोहित पौडेल,कुशल मल्ल,कुशल भुर्तेलसहित १३ जना व्यवसायिक खेलाडी बेलायत आउनेछन्।
विजेतालाई ५ हजार पाउण्ड र उपविजेतालाई २००० पाउण्ड नगद पुरस्कार दिइनेछ। यो पुरस्कार राशी सम्भवतः बेलायतको नेपाली समुदायमा सबैभन्दा उच्च हो। सांगीतिक कन्सर्टका लागि निमा रुम्बा,धिरज राई आदि राष्ट्रिय कलाकारसंग कुरा भइरहेको छ। तीनवटा नेपाली कम्पनी पनि ब्राण्ड प्रमोशन गर्न आउनेछन्।
उक्त खेलका लागि अनुमानित बजेट झण्डै ७० हजार पाउण्ड छ। फूल इभेन्ट हेर्न प्रवेश शुल्क जम्मा ५ पाउण्ड राखिएको छ। तपाईंहरु सबैजना आइदिनु होला। आशा छ खेल हेर्न ५ हजार दर्शक मैदानमा आउनु हुनेछ। प्रतियोगितालाई युट्यव र नेपालको प्राइम टिभी एचडीबाट लाइभ गरिनेछ ।
मैले माया क्रिकेट क्लवसमेत सञ्चालन गरिरहेको र आफू पनि पूर्व क्रिकेट खेलाडी भएकाले नेपालको क्रिकेट विकास र खेलाडीको अवसरका लागि प्रतियोगिता गर्ने उद्देश्य लिएको हुं। महिलालाई अर्को सिजनमा सहभागी गराउन प्रयास रहनेछ।
बेलायतमा अन्य धेरै गतिविधि हुने भएपनि क्रिक्रेट उत्सव नभएको अवस्थामा यस्ता गतिविधिबाट बेलायतमा रहेका नेपाली युवा खेलाडीलाई अवसर मिल्ने विश्वास लिएका छौं। प्रायोजकहरुबाट खर्च जुटाउने र खर्च कटाएर दि गोर्खा सेन्टर एवं द अर्फानेज होम्स् गरि दुई च्यारिटी संस्थालाई सहयोग गर्ने हाम्रो योजना छ।
कार्यक्रममा नेपाली समुदायको पूर्ण साथ रहने विश्वास छ । सबैलाई एकजुट भएर खेल सफल बनाइदिन एवं नेपाल र नेपालीबीच भाइचारा कायम राख्न म अपिल गर्दछु विनित राज पाण्डे सिइयो माया इभेन्ट्स भन्नु भयको छ।