८ जेष्ठ, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ब्रिटिश गोर्खाको प्रशंसा गर्नुभएको छ । बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले ब्रिटिश गोर्खाको प्रशंसा गर्नुभएको हो ।
नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको १०० वर्ष पूरा भएको अवसरमा टेन डाउनिङ्ग स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामबारे धारणा राख्नुभयो ।
बेलायती राजा चार्ल्सले विगतमा गरेको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनु भएको लन्डनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बेलायतका प्रधानमन्त्री सुनकले बताउनु भएको छ ।
समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिंदै सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको थियो । बेलायती प्रधानमन्त्रीले ब्रिटिश गोर्खाको प्रसंशा गर्दै गर्दा यता भूतपूर्व गोर्खाहरु भने आफुहरुविरुद्ध विभेद भएको भन्दै लामो समयदेखि असन्तुष्ट छन्।