२ असार, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायती राजा चार्ल्स तृतीयको शुभजन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावहरूलाई प्रदान गरिएको पदवी पूर्व गोरखा सैनिक हरि बुढामगरले पनि पाउने भएको समाचार छ।
शुक्रबार बेलुका सार्वजनिक गरिएको सो पदक पाउनेहरूको सूचीमा बुढामगरले MBE पाउने भएको हो। अपाङ्गताका बारेमा जनचेतना फैलाएकोमा मेम्बर अफ अर्डर अफ ब्रिटिश एम्पायर (MBE) पदवी प्रदान गरिने घोषणा गरिएको हो।
बुढामगरले गत वर्ष २०२३ मई १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए।बुढामगरले घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरु मध्ये सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा गिनिस बुक अफ वर्ल्ड रेकर्ड पनि कायम गरेका छन् ।
रोल्पा मिरुलमा जन्मेका बुढामगरले बेलायती सैनिकमा कार्यरत हुँदा कामको सिलसिलामा सन् २०१० मा अफगानिस्तानको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा मुनि सबै गुमाएका थिए। सो दुर्घटनाको उपचारपछि उनले बेलायत लगायत विभिन्न स्थानहरूमा अपाङ्ग भएपछि केही गर्न सकिन्न भन्ने परम्परागत मानसिकता हटाउन र अपाङ्गहरूले पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिदै प्रवचन दिने,साहसिक खेलमा सहभागी हुने,सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय रहेर समाजमा उच्च मनोबल दिएका थिए।
सगरमाथा सफलता पुर्वक चढेका उनी अहिले सबै महादेशका अग्ला हिमाल चढ्ने अभियानमा लागेको समाचार छ।