२२ असार, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। सन् १९९५ मा स्थापना भएको बेलायत स्थित नेपालीहरूको जेठो साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् युकेले परिषद्को १४औँ कार्यसमितिको निर्बाचन घोषणा गरेकोछ।
साहित्य परिषदका अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी २१ जुलाई २०२४ आइतबारका दिन १२.०० बजे दिउसो ABI College एक्टन टाउन हाइस्ट्रिटमा बस्ने परिषदको २९ औँ वार्षिक साधारण सभामा आगामी दुई वर्षका लागि परिषद्को १४औँ कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो।
निर्वाचन सम्पन्नका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल गठन गरीएको छ। अध्यक्ष मण्डलमा परिषद्का प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल,पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली,सल्लाहकारहरू विजय थापा र कृष्ण भट्ट रहनु भएको छ। परिषद सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण सर्जक कवि साहित्यकार तथा साहित्य प्रेमी समाजसेवीहरूमा निर्वाचनमा उत्साहवर्धक सहभागिताका लागि खुल्ला उम्मेद्वारी मनोन्वयन आह्वान गरेको छ। निर्बाचनमा उम्मेद्वार हुन चाहने उम्मेद्वारले यही १९ जुलाई साँझ ५.३० बजे भित्र अध्यक्ष मण्डलका सदस्य कृष्ण भट्ट समक्ष आफूले उठ्न चाहेको पदमा उम्मेद्वारी नाम दर्ता गराउनु पर्नेछ भने परिषद्को सदस्यता नवीकरण वा नया सदस्यताका लागि परिषद्का वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान वा अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठसँग अविलम्व सम्पर्क गर्न पनि विज्ञप्तिमा आह्वान गरेको छ। परिषदको नियमित निर्वाचन हरेक दुई वर्षमा हुने गरेको छ बिज्ञप्तिमा भनिएको छ।
निर्वाचन सम्बन्धी अन्य कुनै कुरा बुझ्न परेमा संपर्कका लागि कृष्ण भट्ट 07946 305444 र कोमल श्रेष्ठ मल्ल 07863 138902 अध्यक्ष नेपाली साहित्य विकास परिषद् यूके रहनु भयको छ।