८ श्रावण, २०८१
GNNNEWS-
लन्डन - बेलायतको म्यानचेस्टरमा शनिबार (२० जुलाई)”नेपाल दिवस” भव्य रुपमा सम्पन्न भएको छ।
म्यानचेस्टर नेपाली समाज र म्यानचेस्टर म्युजियमको दक्षिण एसिया ग्यालरीले सह-आयोजन गरेको उक्त समुदाय केन्द्रित कार्यक्रममा म्यानचेस्टरस्थित नेपाली समुदाय र संग्रहालयका आगन्तुकहरुको बाक्लो उपस्थिति रहेको थियो।
"नेपाली घरायसी वस्तुहरुको प्रदर्शनी,सांस्कृतिक प्रस्तुति,योग सत्र,बालबालिका गतिविधि र डिजिटल फोटो प्रदर्शनी मार्फत नेपालको विविधता झल्काउन कार्यक्रम सफल रह्यो,"कार्यक्रमका संयोजक तथा म्यानचेस्टर विश्वविद्यालयसंग आबद्ध सहायक प्राध्यापक डा निमेश ढुंगानाले बताए।
सो प्रदर्शनीमा नेपालको क्षेत्रीय,सांस्कृतिक, सामाजिक,धार्मिक र जातीय विविधता झल्काउने गरी प्रदर्शनीको आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली संस्कृति झल्काउने नाच,गीत,संगीत पनि प्रस्तुत गरिएका थिए ।
उक्त प्रदर्शनीले ब्रिटिश नागरिकहरुलाई नेपालको जनजीवन र संस्कृतिबारे जानकारी दिनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा पनि मदत पुगेको डा ढुंगानाले बताए।