१८ श्रावण, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाल आदिवासी जनजाति महासंघ युकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको सुभकामनाका साथ बधाई तथा सम्मान गर्ने भएको छ।
आगामी अगष्ट ४ आइतवारका दिन तिसौं विश्व आदिवासी दिवसको उपलक्ष पारेर नयां कार्यसमितिलाई सम्मान गर्न लागिएको महासंघका अध्यक्ष रि.मे योगेश कोयु राईले जानकारी दिनुभएको हो । गत जुलाई १४ मा भएको नेपाल पत्रकार महासंघको छैठौ अधिवेशनले विमला सेनेको नेतृत्वमा १५ सदस्य रहेको कार्य समिति चयन गरेको छ।
यो वर्ष भने महासंघले नजिकको सप्ताहान्त पारेर “देश तथा विदेश जहा रहेपनि हाम्रो पहिचान,प्रतिनिधित्व र समावेशीताको आवाज उठाउ,हाम्रो भाषा,धर्म,संस्कृति र अधिकारको लागि विश्वव्यापी जागरण अभियान गरौं” भन्ने नाराका साथ अल्डरसटको द प्यालेसमा दिउसो १२ वजे देखि भव्य रुपमा मनाउने भएकोछ।
आयोजकका रुपमा नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ,नेपाल आदिवासी जनजाति युवा महासंघर र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ समेत रहेका छन्। हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाईन्छ। यस वर्ष संयुक्त राष्ट्र संघले “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact” मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ।
जातिय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा वेलायतमा रहेका १४ वटा जातिय संस्थाहरु अवाद्ध रहेका छन ।