Saturday February 08, 2025

एनआरएनए अध्यक्ष डा.बद्री केसी बेलायत आउने

२७ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1267


एनआरएनए अध्यक्ष डा.बद्री केसी बेलायत आउने

शीतलपाटीन्युज डटकम।

लन्डन। गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी बेलायत आउने भएका छन्। डा.केसी बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमको आगामी सेप्टेम्वर १ तारिख आइतबार आयोजना हुने १७ औं वार्षिकोत्सव समारोहमा भाग लिन लण्डन आउन लागेका हुन्। 

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाका अनुसार डा. केसी २४ अगष्ट शनिवार लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने तयारी गरेका छन्। 

उनी अगष्ट २५ तारिख आइतवार तमुधीं यूकेको आयोजनामा हुने नेपाली मेलामा सहभागी हुने भएका छन्। यस्तै,अगष्ट २६ तारिख सोमवार गैरआवासीय नेपाली संघ यूकेले उनको सम्मानमा एक कार्यक्रमको आयोजना गर्ने संघका अध्यक्ष हितकाजी गुरुङले जानकारी दिए। सो कार्यक्रममा अल्डरशट स्थित एम्पाएर हलमा आयोजना गर्ने तयारी भएको छ। 
सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा सञ्चालनमा आएको समाचार पोर्टलले १७ औं वार्षिकोत्सव मनाउने तयारी गरेको हो। 

नेपालब्रिटेन डटकमका संस्थापक अध्यक्ष चिरन्जीबी ढकालका अनुसार स्ट्यान्स्स्थित स्ट्यावेल कम्यूनिटीमा आयोजना हुने सो समारोहमा बेलायतमा सक्रिय १० सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्ने तयारी गरिएको छ।

अनलाइनले हरेक वर्षमा बेलायतमा रहेर विभिन्न सामाजिक क्षेत्रमा सक्रिय चर्चित व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको छ । गत वर्षहरुमा जस्तै नेपाली समुदायसँग वार्षिकोत्सव मनाउने तयारी गरिएको ढकालले बताए।

सो अवसरमा कार्यक्रममा एमाले पूर्व सांसद तथा केन्द्रीय सदस्य डा.सूर्य पाठक,गण्डकी प्रदेश सांसद डिल्ली राम सुवेदी,नेपाली दूतावास लन्डन, स्थानीय सबै सामाजिक संघसंस्था,पत्रकारहरु, बुद्धिजीवी लगायतको उपस्थितिमा नेपालबाट आएका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिने भएका छन्।

नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले गत वर्षहरुमा जस्तै यो वर्ष पनि बेलायतमा चर्चित दश नेपालीलाई सम्मान गरिने जानकारी दिए। उनले बेलायतस्थित नेपाली समुदायको सिफारिसमा चर्चित १० जनाको नाम चयनको प्रकृया अघि बढेको बताए। यस वर्ष बेलायतमा सक्रिय एक सामाजिक संस्थालाई समेत सम्मान गर्ने तयारी गरिएको उनले जानकारी दिए।

कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?