Friday March 21, 2025

एमबिई हरि बुढा मगर युकेको “प्रेरणा अवार्ड २०२४” र “बिशेष मान्यता अवार्ड २०२४” बाट सम्मानित

७ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1406


एमबिई हरि बुढा मगर युकेको “प्रेरणा  अवार्ड २०२४” र “बिशेष मान्यता अवार्ड २०२४” बाट सम्मानित

शीतलपाटीन्युज डटकम।
लण्डन। विश्वको सबै भन्दा अग्लो ८८४८ मीटरको सगरमाथा हिमाल चढेर कीर्तिमानी कमाएका आरोही तथा पूर्वगोर्खा सैनिक हरि बहादुर बुढा मगर (एमबीई)ले यूकेको दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन्। '

मगरले सोल्जरिङ अन अवार्ड २०२४ मा “प्रेरणा अवार्ड २०२४” र प्राइड अफ ब्रिटेन अवार्ड २०२४ मा “विशेष मान्यता अवार्ड २०२४" विजेता बनेर दुईवटा अवार्ड प्राप्त गरेका हुन्।पश्चिम नेपालको दुर्गम जिल्ला रोल्पामा जन्मेका हरि बहादुर बुढा मगर साहसी भएका हुन। १९ वर्षको उमेरमा ब्रिटिस सेनाको गोर्खा ब्रिगेडमा भर्ती भएका उनी पाँच महाद्वीपमा १५ वर्ष सेवा गरेका छन। सन् २०१० मा अफगानिस्तानमा ब्रिटिस सेनाका तर्फबाट शान्ति स्थापनार्थ खटिएर जिम्मेवारी बहन गर्दै गर्दा पेट्रोलीड्गका क्रममा अचानक विद्रोहीहरूले थापेको विद्युतीय धराप एम्बुसमा पर्दा आईईडी विस्फोटमा परेर उनले दुबै गोडा गुमाएका थिए।


घटनापछि मानसिक तनावलाई हरिले आफ्नो जीवनलाई पुनर्निर्माण गर्ने निधो गरे। त्यसपछि उनले कायकिङ, प्याराग्लाइडिङ,स्कीइङ,पौडी खेल्नेसहितका चुनौतीपुर्ण अभ्यास गर्न थाले।

सगरमाथामा मानव पाइला राखेको ७०औँ बर्ष पुगेको बर्षगाँठलाई समात्दै १९ मे २०२३ मा ८८४८ मीटरको सरगमाथाको सफल आरोहण गरेर दुवै घुँडामाथि खुट्टा नभएका पहिलो व्यक्ति बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेर इतिहास रचे। उनले नेपाल सरकारले लगाएको अपांगता भएका व्यक्तिको आरोहण प्रतिबन्ध हटाउन कानूनी लडाइँ लडेर असमानता विरुद्धको कानूनी संघर्ष जितेका थिए। त्यसपछि कृत्रिम खुट्टाको डिजाइन निर्माण गरेर आफ्नो अभियानको लागि आवश्यक कोष जुटाएका थिए।

सोल्जरिङ अन अवार्ड २०२४' अक्टोबर १६ मा वेस्टमिन्स्टरको पार्क प्लाजा होटलमा आयोजित गरिएको थियो। जहाँ हरिलाई 'विशेष प्रेरणा अवार्ड' प्रदान गरियो । धेरै प्रतिस्पर्धीमध्ये फाइनल पुगेका तीन फाइनालिष्टमध्ये हरिले यो अवार्ड प्राप्त गरेका थिए। यो अवार्ड सशस्त्र बल समुदायमा रहेका व्यक्तिलाई दिने चलन छ। जसले कठिनाइ पार गरेर अरूलाई प्रेरित गरेका हुन्छ। हरिको सगरमाथाको सफल आरोहण र प्रेरणादायी यात्रा यस अवार्डको प्रमुख कारण थियो ।

अक्टोबर १९ साँझ सम्पन्न 'प्राइड अफ ब्रिटेन अवार्ड २०२४'मा हरिलाई 'विशेष मान्यता अवार्ड' प्रदान गरियको थियो, जुन यूकेका नचिनिएका नायकको सम्मान गर्न आयोजित कार्यक्रम हो। यो पुरस्कार उनलाई अपांगता अधिकारको पक्षमा लड्न र भौतिक सीमाहरूले कसैको सपना पूरा गर्न रोक्न हुँदैन भन्ने कुरा प्रमाणित गर्नका लागि प्रदान गरिएको हो।

प्राइड अफ ब्रिटेन अवार्ड २०२४ कार्यक्रममा २०१० यताका युकेका भूतपूर्व प्रधानमन्त्रीहरु,मन्त्रीहरु र हालका प्रधानमन्त्री लगायत कलाकारहरु,सेनाका बहालवाला अधिकृतहरु र पूर्व अधिकृतहरुको उपस्थिति थियो। हरि बहादुर बुढा मगरको इन्टेक ९९ का बहालवाला सेनाका अधिकृत र अवकास प्राप्त नम्बरीहरू उपस्थित भएर बधाई दिँदा हरि खुशीको आँसु पुछ्दै धन्यवाद दिएका थिए। 

अवार्ड कार्यक्रमको सम्पूर्ण भाग युकेको राष्ट्रिय टेलिभिजन आईटिभी १ बाट २३ अक्टोबरमा प्रसारण हुनेछ।हाल सम्मानित हरि बहादुर बुढा मगर परिवार समेत केन्टमा बसोबास गर्दै आएका छन।
(बुढा मगर कै फेसबुक वालबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?