९ कार्तिक, २०८१
GNNNEWS-
काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन विरुद्ध एक निजी कम्पनीले दिएको जाहेरीको आधारमा दायर गरिएको अभियोगमा लगाइएको आरोपमा सफाई दिएको छ।
न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले मंगलबार गरेको फैसला अनुसार काठमाडौँस्थित सुन्दर ग्रुप अफ कम्पनिजले जेनेस सलुशन विरुद्ध दायर गरेको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा दावी नपुग्ने ठहर गरेको हो। अदालतको फैसलाको पूर्ण पाठ केही साता भित्र आउने अदालतका एक अधिकृतले बताए।
अदालतको उक्त फैसलाको जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले स्वागत गरे। "यो फैसलाले हामी निर्दोष रहेको प्रमाणित गरेको छ र हामीलाई दुख दिने मनसायले मात्रै उक्त मुद्दा दायर गरिएको थियो भन्ने हाम्रो भनाइको पुष्टि भएको छ," फुयाँलले भने। " जेनेस सलुशन नेपाल, बंगलादेश, फिनल्याण्ड, अमेरिका, स्पेन, नाइजेरिया लगायत संसारका दश ओटा मुलुकहरुमा आइटी क्षेत्रमा कार्यरत एक प्रतिष्ठित कम्पनी हो। आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्न र आफ्ना ग्राहकहरुको डेटा सुरक्षित राख्ने काममा यस कम्पनीले कहिल्यै कुनै पनि प्रकारको कमी कमजोरी रहन नदिने कुरा प्रति हामी प्रतिबद्ध छौं ।"
प्रविधि क्षेत्रमा महिला सहभागिता बढाउन जेनेस सलुशनले शिक्वल फाउन्डेशन तथा गर्ल्स-इन-टेक जस्ता कार्यक्रमहरुलाई बढावा दिंदै आएको छ। यसै गरी एडब्लुएस एकेडेमी, माइक्रोसफ्ट एकेडेमी तथा विश्वस्तरमै प्रविधि क्षेत्रका अन्य अग्रणी संस्थाहरुसंग सहकार्य गर्दै जेनेस सलुशनले नेपालका विभिन्न विश्वविद्यालयहरुका प्रविधि सम्बन्धी पाठ्यक्रम अद्यावधिक गर्न पनि सहयोग गरिरहेको छ।