१३ कार्तिक, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन।वेलायतबाट सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तत्काल रिहाईको माग गरिएको छ। रिहाईको माग गर्दै नेपाली राजदुताबास उपस्थित हुने हरुमा १)पवन शर्मा सभापति २)कोशलेश्वोर ढकाल उपसभापति ३)बिष्णु चालिसे प्रबक्ता ४)भोजराज कंडेल सदस्य ५)डिलाराम गौतम सदस्य ६)राम थापा, क्षेत्रीय सभापति लन्डन शाखा ७)दिनेश खरेल क्षेत्रीय उपसभापति इस्ट मिड्ल्यान्ड ८)बलाराम चापागाईं,क्षेत्रीय सदस्य
९)शालिक सापकोटा ,क्षेत्रीय सदस्य १०)रमेश बेलबासे,सदस्य बिध्यार्थी बिभाग ११)अर्जुन कटुवाल,चार्टर्ड एकाउन्टेन्ट तथा रास्वपा समर्थक रहनु भयको थियो।
वेलायतस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभागले सोमबार लण्डनस्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा राजनीतिक प्रतिशोधको आधारमा गरिएको राज्य आतंक बन्द गरि निर्दोष रास्वपा नेता रवि लामिछानेलाई तत्काल रिहा गर्न माग गरिएको छ। विभाग प्रमुख पवन शर्माको नेतृत्वमा लण्डनस्थित नेपाली दूतावास पुगेको टोलीले कार्यवाहक राजदूत विपिन दवाडीलाई ७ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा ‘सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन अनुसार वास्तविक ठगीमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न र जनताको रकम फिर्ता दिलाउनु पर्ने दायित्वबाट विमुख भई रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा लिएको घटनाको भर्त्सना गरिएको छ।’
ज्ञापनपत्रमा ‘८७ अर्ब भन्दा बढी रकमको सहकारी अपचलन तथा मिटरब्याजीहरुको छानबिन गरि कानूनी कारबाही गर्न, सहकारी पीडित र मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा हेल्पडेस्क स्थापना गर्न आग्रह गरिएको छ।’
विभागले ‘सहकारी ठगीमा संलग्न धनराज गुरुङ र ऋषिकेश पोखरेल लगायतलाई हदैसम्मको कारबाही गरि पीडितको रकम फिर्ता गर्न माग गरेको छ। बाँसबारी जग्गा,टिकापुर जग्गा र ललितानिवास प्रकरणका दोषी उपर निष्पक्ष छानबिन, भुटानी शरणार्थी काण्डको छानबिन र सत्तासीन दल नेकपा एमाले तथा व्यापारी मीन बहादुर गुरुङ बीचको भ्रष्टाचारको छानबिन गर्न पनि माग गरिएको छ।’
विभागले ‘२०४६ साल पछिका सम्पूर्ण भ्रष्टाचारजन्य अपराधको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरी दोषिलाई कारबाही गर्न माग गरेको छ। सरकारले विभागको मागको विषयमा आवश्यक कदम नचालेमा सरकारविरोधी सघन आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।’
ज्ञापनपत्र बुझाउनका लागि वेलायतस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु नेपाली दूतावास पुगेका थिए।