१० मंसिर, २०८१
GNNNEWS-
लन्डन । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्।
बिस्टलमा उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए। यस अघि उनले ब्रिस्टल प्रहरीमा गएर बयान दिएका थिए। उनी कसरी हराए र कसरी भेटिए भन्ने बारे प्रहरीले केही बताएको छैन।
उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको थियो।
युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय भट्टराई गत १६ नोभेम्वर शनिबार बेलुकीदेखि सम्पर्कविहीन थिए।
सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए। १६ नोभेम्बर राती डेरामा नफर्केपछि उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उनको परिवार र सोमबार प्रहरीलाई खबर गरेका थिए।
गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित थियो।सचिनका पिता शशीकान्त भट्टराईले आफ्नो छोराको खोजी गर्न सहयोग गर्ने र चासो देखाउने ब्रिटिश प्रहरी, नेपाली दूतावास लगायत बेलायतस्थित नेपाली समुदायलाई हार्दिक धन्यवाद दिएका छन्।
लन्डनस्थित नेपाली दूतावास, एनआरएनए युके लगायतले उनको खोजीका लागि ब्रिस्टल प्रहरीसंग समन्वय गर्नुका साथै नेपाली समुदायलाई आग्रह गरेका थिए।