१६ मंसिर, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन्। ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो संघर्षका कथा पनि सुनाए।
ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर दीपक भट्टराईले अहिले नेपाली सोलिसिटरहरु विशेषगरि अध्यागमन क्षेत्रमा मात्र केन्द्रित भएका पाइएको उल्लेख गर्दै अब प्रोपर्टी ल,लिटिगेसन,फेमिली, इम्प्लोयमेन्ट ल जस्ता क्षेत्रमा पनि काम गर्न सुझाए । ‘बेलायतमा नेपाली समुदाय बढेसंगै कानूनी समस्याका आयामहरु पनि फरक हुंदैछन्। अब हामीहरुले फरक क्षेत्रमा समेत काम गर्न जरुरी छ’, सोलिसिटर भट्टराईले भने।
एसोसिएसनले कानून व्यवसायीको करिअर विकास र कार्यक्षमता कसरी बढाउने भन्नेमा पनि सुझाव प्रदान गरिरहेको भट्टराईले जनाए। उनले बेलायतमा सोलिसिटर बन्ने रुटबारे प्रकाश पार्दै सोलिसिटर्स क्वालिफाइङ एक्जामिनेसन (एसक्यूइ) बारे अवगत गराएका थिए।
ब्यारिष्टर एवं एसोसिएसनका पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठले भूतपूर्व गोर्खा वयस्कहरुका लागि आएको नयां नियमबारे अपडेट गराएका थिए। ब्यारिष्टर श्रेष्ठले ‘अपिल राइट्स’ फेरि फिर्ता भएको जानकारी दिंदै मुद्दा कसरी लड्ने भन्नेबारे अवगत गराए।
एसोसिएसनका उपाध्यक्ष एवं सोलिसिटर उत्तरमान तिगेलाले नेपाल, हङकङ हुंदै यूके आएर सोलिसिटर बन्न र फर्म आफैंले सञ्चालन गर्दाको संघर्ष र तितामिठा अनुभव सुनाए। एसोसिएसनका सह-कोषाध्यक्ष सोलिसिटर रोजन भण्डारी र पर्सनल इन्जुरी क्षेत्रमा काम गरिरहेका युवा सोलिसिटर एसोसिएसनका सदस्य सोलिसिटर विपिन रेग्मीले पनि आ-आफ्नो संघर्ष र अनुभव सेयर गरे।
बैठकमा सोलिसिटरहरु लुना राई र अमर गुरुङ, ओआइएससी रजिष्टर्ड अध्यागमन सल्लाहकार विष्णु बुढाथोकी, क्याम्ब्रीजबाट एलएलएम गरेकी र हाल इन्टरनेशनल आरबीट्रेसन, लगानी सम्बन्धी विवाद (इन्भेष्टमेन्ट डिस्प्यूट) तथा अन्तर्राष्ट्रिय मानवअधिकार क्षेत्रमा काम गरिरहेकी हसिना लामिछाने लगायतले पनि आफ्नो संघर्ष सुनाए।
बैठकमा कानून व्यवसायमा काम गरिरहेका कोहिनुर श्रेष्ठ, अनुप ढकाल,तनुश्री थापा लगायत सहभागी थिए।
(श्रोत-नेपाली लिड्कं)