Thursday January 16, 2025

सोलार फार्म तनहॅुलाई ९० मेगावाट विद्युत उत्पादन गर्न अनुमति

१८ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1289


सोलार फार्म तनहॅुलाई ९० मेगावाट विद्युत उत्पादन गर्न अनुमति

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा बसोबास गरेका नेपाली लगानीकर्ताहरुको परिकल्पना, अवधारणा तथा प्रबर्धनमा स्थापित सोलार फार्म प्रालि तनहु दुलेगौडालाई सौर्य उर्जाबाट ९० मेगावाट विद्युत उत्पादन गर्न नेपाल बिद्दुत प्राधिकरणले अनुमति प्रदान गरेको समाचार छ ।


नेपाल विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई रुपन्देहीमा ४० मेगावाट र कपिलवस्तुमा ५० मेगावाट विद्युत उत्पादन गर्न २६ कात्तिक २०८१ मा अनुमति प्रदान गरेको हो । सोलार फार्म लिमिटेड तनहुका अध्यक्ष मोहन गुरुङले नेपाल विद्युत प्राधिकरणबाट ९० मेगावाट सौर्य उर्जा उत्पादनका लागि आफूहरुलाई आशयपत्र पनि प्राप्त भइसकेको जानकारी गराउनु भएको छ।
नेपालभर ८०० मेगावाट सौर्य उर्जा उत्पादनका लागि प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो। यसरी प्राप्त भएका आवेदनहरुमध्येबाट छनौट गरी प्राधिकरणले विभिन्न सौर्य उर्जा उत्पादकहरुलाई अनुमति प्रदान गरेको हो।


सोलार फार्म लिमिटेडले यसअघि नै तनहुँको बेलचौतारामा पाँच मेगावाटको सौर्य उर्जा उत्पादन गरिसकेको छ।यसका लागि सोलार कम्पनीले छिट्टै नै सर्वसाधारणलाई शेयर पनि बिक्री गर्ने भएको छ।

प्राधिकरणबाट थप सौर्य उर्जा उत्पादनका लागि अनुमति प्राप्त भएकोमा सोलार फार्म लिमिटेडका लगानीकर्ताहरु उत्साहित भएको अध्यक्ष गुरुङले बताउनुभयो। उहाँले नेपालमा घामबाट बिजुली उत्पादन गर्न सकिन्छ भन्ने अवधारणा र परिकल्पना आफूहरुले शुरु गरेको र अहिले अझ ठूलो परिमाणमा सौर्य उर्जा उत्पादनका लागि जिम्मेवारी पाउँदा गर्व लागेको अध्यक्ष गुरुड्गले बताउनु भयको छ।सोलार फार्म तनहुले ५ मेघावाट बिजुलीको सफल उत्पादन गरेपछि यो थप उत्पादनको मौका पाएको हो।

विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई सन् २०२६ को डिसेम्बरभित्रमा ९० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने समय निर्धारण गरेको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?