१८ मंसिर, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन।विश्व अपांगता दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको च्यारिटी कार्यक्रममा करिब १५ लाख संकलन भएको समाचार प्राप्त भएको छ।
मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डको हलमा डिसेम्बर १ तारिख आइतबार सम्पन्न अपांगता दिवस च्यारिटी कार्यक्रमबाट उक्त रकम संकलन भएको कुरा गुल्मी समाज युकेका अध्यक्ष रुद्र थापाले बताउनु भएको छ।
संकलित रकम विगत जस्तै नेपालमा अपांगताकै क्षेत्रमा सहयोग गरिने समाजका अध्यक्ष थापाले बताउनु भएको छ। समाजले विगत १३ वर्षदेखि बेलायतमा च्यारिटी कार्यक्रम गरी रकम उठाएर नेपालमा अपांगता भएकाहरुको लागि सहयोग गर्दै आएको छ। यसपटक पनि हामी त्यसैलाई निरन्तरता दिन्छौं’,अध्यक्ष थापाले भनेका छन। अपांगताकै क्षेत्रमा पनि यसपटक फरक ढंगले सहयोग गरौं भन्ने हाम्रो सोच छ। अक्षयकोष स्थापना गरेर देशैभर आवश्यकता अनुसार सहयोग गर्न सकिए बढी प्रभावकारी हुन्थ्यो कि भन्ने पनि लागेको उहाको भनाई थियो। समाजले अब अपांगता भएका व्यक्तिहरुको सीप तथा क्षमता विकासका लागि तालिमजस्ता उत्पादनमुलक कार्यमा लगानी गर्ने र त्यसबाट तत्काललाई मात्रै नभइ दीर्घकालिन रुपमै सहयोग उपलब्ध हुने विश्वास उहीले व्यक्त गर्नु भएको थियो।
गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न उक्त च्यारिटी कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासका प्रथम सचिव उद्धव न्यौपाने रहनु भयको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी न्यौपानेले नेपालमा अपांगता भएकाहरुको लागि गुल्मी जिल्ला समाजले पुर्याउंदै आएको सहयोग प्रशंसनीय रहेको बताउनु भएको थियो भने विशेष अतिथिहरु एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,एनआरएनए यूके महासचिव गोविन्द खरेल,समाजका पूर्व अध्यक्ष अर्जुन गौतम,ट्रस्टी रणबहादुर खाती क्षेत्री, सल्लाहकार कमल भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष दीपक सापकोटा,सिर्जनशिल लेष्टर नेपाल अध्यक्ष पुण्डरी अर्याल, स्थानीय समाजसेवी जुडिथ स्मिथ,चन्द्र सहानी,विष्णु चालिसे,नारायण फुयाल,शसांक शर्मा,महेश अधिकारी लगायतले मन्तव्य राख्दै समाजका परोपकारी कार्यको प्रशंसा गरीएको थियो। सो अवसरमा समाजका पूर्व अध्यक्ष राम गलामीले अपांगता दिवससम्बन्धि एक प्रिजेन्टेसन गर्नु भएको थियो।
महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रम संयोजक एवम् उपाध्यक्ष मुकुन्द खरालले स्वागत तथा सहसंयोजक सुरेश केसीले धन्यवाद मन्तव्य राख्नु भएको थियो।उक्त अवसरमा अध्यक्ष थापाले कार्यक्रम सफल पार्न जुट्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो।
कार्यक्रममा नेपालबाट आएकी चर्चित मोडल रुबिना अधिकारीले आकर्षक नृत्य तथा दीपक घर्ती र रेजिना परियारले गायन प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए।
साथै स्थानीय कलाकार समेतको प्रस्तुति रहेको मनोरञ्जनात्मक कार्यक्रम दीपक माइथाने मगरले सञ्चालन गरेका थिए। सो अवसरमा समाजका सल्लाहकार क्याप्टेन रिटायर्ड वीरबहादुर थापाले गीत,प्रथम नौमती बाजा गुल्मी यूकेले पनि विशेष प्रस्तुति गर्नु भएको थियो।
सो कार्यक्रममा उपाध्यक्ष मञ्जु भण्डारी,सचिव राधा खरेलसहितको टीमले अतिथि सत्कार,कोषाध्यक्ष तेजप्रसाद रानामगरको टीम टिकेटिङ तथा गुन थापाको टीम खानापान व्यवस्थापनमा गरेको थियो भने माया केसीको संयोजनमा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ गराइएको थियो।
कार्यक्रममा मिडल्यान्डसहित लन्डन,केन्ट,अल्डरसट लगायतका क्षेत्रबाट पुगेका गुल्मेली तथा गैरगुल्मेलीको पनि भब्य उपस्थिती थियो।च्यारिटीलाई सुरेश केसी संचालक रहेको अवतार रेष्टुरेन्टका ग्राहक एक बेलायती दम्पत्तिले १ हजार पाउण्ड सहयोग समेत गरेका थिए। कार्यक्रमलाई गुल्मीको जिटीभी,पुष्पाञ्जली रेडियो लगायतबाट लाइभ प्रसारण गरिएको थियो।
(श्रोत- नेपालीलिंक)