Thursday January 16, 2025

युरोपमा कार्यरत स्वास्थ्यकर्मीहरू आफ्नो सीप नेपालको सेवामा प्रयोग गर्न इच्छुक

२५ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1428


युरोपमा कार्यरत  स्वास्थ्यकर्मीहरू आफ्नो सीप नेपालको सेवामा प्रयोग गर्न इच्छुक

GNNNEWS-

लन्डन। युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूले आफु संग रहेको सीप र दक्षता नेपाल को स्वास्थ्य सेवा सुधार्न सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। यही डिसेम्बर महिनाको अन्त्यमा स्वास्थ्य मन्त्रालयले काठमाडौँमा योजना गर्न लागेको स्वास्थ्य कन्क्लेभको तयारी स्वरुप सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोपले  आइतबार  प्रि-कन्क्लेभ योजना गरेको थियो।  

कार्यक्रममा विभिन्न देशमा बसोबास गरिरहेका आठ स्वास्थ्य विशेषज्ञहरूले नेपालमा आफ्नो सहभागितामा सम्पन्न प्रोजेक्टहरूबारे प्रस्तुति दिएका  थिए। नर्वेका प्रा डा दीपक सापकोटा,काठमाडौँ विश्व विद्यालयमा कार्यरत एसोसियट प्राध्यापक  डा कौशलकिशोर तिवारी, स्वीडेनमा कार्यरत डा दीपराज थापा, बेल्जियममा कार्य रत  डा राजु श्रीवास्तव,जर्मनीमा कार्यरत  डा सागर धिताल, अमेरिकामा कार्यरत डा कृष्णप्रसाद खनाल, बेलायतमा कार्यरत  डा बच्चु कैलाश कैनी र स्वीजरल्यान्डमा कार्यरत डा विनयकुमार श्रेष्ठले विभिन्न अनुसन्धान तथा परियोजना बारे प्रस्तुति दिएका थिए।  

कार्यक्रममा पोल्याण्डक लागि नेपाली मानार्थ वाणिज्यदूत डा बोधराज सुवेदी,गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष अर्जुनकुमार  श्रेष्ठ,डा प्रकाश थपलिया,डा भीमप्रसाद सापकोटा,डा विराज कर्माचार्य लगायतले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। वक्ताहरुले नेपालको स्वास्थ्य क्षेत्रमा डायस्पोराको भूमिकाबारे आफ्ना विचार राख्दै नीतिगत सुधार र सहकार्यको खाँचो औंल्याए। 

संस्थाका अध्यक्ष डा विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालमा सञ्चालित प्रोजेक्टहरूमा देखिएका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे पनि गहन छलफल भएको थियो। सहभागीहरूले विदेशमा सिकेको ज्ञान,सीप र स्रोत साधनलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्न थप सहकार्य र निरन्तरताको आवश्यकता रहेकोमा जोड दिए।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आह्वान गरे। उनले यसका लागि कानूनी र नीतिगत वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए। “देशमा लोकतन्त्र त आयो,तर जनताले त्यसको महशुश गर्ने अवस्था बनेको छैन। विदेशमा आर्जन गरेको तपाईंहरुको अनुभवले नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। मन्त्रालयले आयोजना गर्न लागेको कंक्लेभले विशेष कार्यक्रम आयोजना गरी स्पष्ट नीति तय गरिनेछ,”मन्त्री पौडेलले भने ।
नेपालमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी डिसेम्बर २६ र २७ तारिखमा  काठमाडौंमा ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ आयोजना गर्न लागेको  छ। उक्त सम्मेलनको मुख्य उद्देश्य नेपालका स्वास्थ्य क्षेत्रको सुधारमा प्रवासी नेपाली विज्ञहरूको सहभागिता र अनुभव आदान प्रदान गर्ने रहेको बताइएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?