Monday February 10, 2025

पत्रकार रानाभाट बार्सिलोनामा सम्मानित

२८ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1159


पत्रकार रानाभाट बार्सिलोनामा सम्मानित

GNNNEWS-
बार्सिलोना। स्पेनको बार्सिलोनामा आयोजित एक विशेष समारोहमा विभिन्न देशका ३३ जना पत्रकार र सञ्चारकर्मी सम्मानित भएका छन्। क्याटालोनिया सरकारको नेतृत्व गरिरहेको सत्तारुढ दल सोसियलिस्ट पार्टी अफ क्याटालोनियाको नागरिकता र विविधता विभागले बिहीबार साँझ एक भव्य समारोह बीच पत्रकार, सञ्चारकर्मी, टेलिभिजनकर्मी र फोटो पत्रकारहरुलाई सम्मान गरेको हो।

यस कार्यक्रममा पत्रकार बसन्त रानाभाट लाई विशेष सम्मान प्रदान गरिएको थियो। झन्डै डेढ दशकदेखि स्पेनमा बसोबास गर्दै आएका रानाभाटको पत्रकारिता क्षेत्रमा दुई दशक लामो अनुभव छ। उनी हाल अनलाइनखबर डटकमको युरोप क्षेत्रमा समाचार संयोजकको रुपमा कार्यरत छन्। रानाभाटलाई स्पेन सरकारका क्याटालोनिया प्रतिनिधि कार्लोस प्रिइटो गोमेजले सम्मानपत्र हस्तान्तरण गरेका थिए।

सम्मान समारोहमा बोल्दै कार्लोस प्रिइटो गोमेजले स्पेनको बहुसांस्कृतिक समाजलाई मजबुत बनाउन सञ्चारकर्मीहरूले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले भने, “सञ्चारकर्मीहरूले केवल सूचना प्रवाहमा मात्र होइन, देशभित्रका विविध समुदायहरू बीच समझदारी र सहिष्णुताको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूको यो योगदान सराहनीय छ।”

सम्मान ग्रहण गरेपछि पत्रकार बसन्त रानाभाटले कार्यक्रममा मन्तव्य राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै गौरवान्वित  र खुशी भएको बताए। उनले भने, “यो सम्मान मेरो लागि मात्र नभएर नेपाल र नेपाली समुदायका लागि पनि हो। मलाई विश्वास छ, यसले हाम्रो संस्कृतिबीचको सम्बन्धलाई अझ बलियो बनाउनेछ।”
 
कार्यक्रममा क्याटालोनिया प्रदेशका सांसद एरनेस्तो कारिवनले संयोजनको भूमिका निर्वाह गरेका थिए। उनले बहुसांस्कृतिक समाज निर्माणमा सञ्चारकर्मीहरूको योगदानलाई महत्त्वपूर्ण भन्दै भने, “यो सम्मानले क्याटालोनियाको सामाजिक विविधता र सह-अस्तित्वको मूल्यलाई झल्काउँछ। यहाँ बसोबास गर्ने विभिन्न समुदायका सञ्चारकर्मीहरूले समावेशी समाज निर्माणमा पुर्‍याएको योगदान अमूल्य छ।”

२० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा नेपाली समुदायको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। एनआरएनए स्पेनका पूर्व अध्यक्ष शालिकराम डुम्रे,पूर्व आईसीसी सदस्य दिनेश गिरी,महासचिव सुन्दर रानाभाट लगायतका व्यक्तित्वहरू समारोहमा सहभागी थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?