१३ पुष, २०८१
पिपला पाण्डे देवान,
“छ दशकपछि मरुभूमिको रमाइलो”
पुसको महिना,
गाउँको त्यो चिसो बिहान,
हल जोत्न खेतमा निस्कँदा
हिउँसरी सास सुक्थ्यो।
हातका औँलाहरू कठ्याङ्ग्रिन्थे,
तर हृदयको आगो दन्किएको थियो।
त्यो आगो—
जीवन बनाउने, भविष्य देख्ने,
आफ्नो माटोबाट केही सिर्जना गर्ने।
आज यो मरुभूमिमा छु।
६० डिग्रीको घाम,
जसले शरीर तातो बनाउँछ,
तर मन,
अझै चिसो छ।
यो ठाउँले मलाई धेरै कुरा दियो—
रोटी, छानो, अवसर।
तर केही दिनुजस्तो,
धेरै कुरा खोसियो पनि।
जन्मभूमिको त्यो अपनत्व,
त्यो आफ्नोपन,
र आफ्नै माटोको सुगन्ध।
त्यो बेलाका संघर्षहरू,
खुट्टामा फाटेको जुत्ता,
हिलोले भरिएका कपडा,
तर आत्मामा एउटा गर्व थियो।
आज, म राम्रो जुत्ता लगाउँछु,
मसिनो लुगा लगाउँछु,
तर के गर्व अझै उस्तै छ?
यहाँको विकास मेरो जीवनमा चमक हो,
तर त्यही चमकभित्र
कुनै खोक्रो प्वाल पनि छ।
परदेश आएँ सपना पूरा गर्न।
सोच्थेँ,
म यहाँका सुख बोकेर गाउँ फर्किन्छु।
तर परदेशमा मात्र रहेछ,
सुखसँगै अपुरोपनको कथा।
यहाँ म धनले ठूलो भएँ,
तर आत्माले सानो।
मेरो गाउँमा गरिबी थियो,
तर आत्मामा एक अटल इमान थियो।
यहाँ सबै सुविधा छ,
तर के मनको शान्ति छ?
पुसको कठ्याङ्ग्रिने चिसो,
गाउँको त्यो मुस्कान,
खेतको माटोमा परेको हलको डोब,
यी सबै मलाई अझै बोलाउँछन्।
तर यहाँ, मरुभूमिमा,
जहाँ केवल बालुवाको समुद्र छ,
जीवन जिउन सिकाएको यो कर्मभूमि
अब मलाई एउटा सम्झौताको थलोजस्तो लाग्छ।
तर समय कहिल्यै रोकिँदैन।
मेरो चाला,
मेरो यात्राको कथा,
यो दुई ठूला भिन्न संसारको बीचको पुल बनेको छ।
जहाँ जन्मथलोले सधैँ माया बाँडिरह्यो,
तर परदेशले मबाट धेरै अपेक्षा गरिरह्यो।
अब,
६० डिग्रीको घाम पनि
त्यति असह्य लाग्दैन,
किनकि थकित मनलाई
अब फर्किनुपर्ने कुरा थाहा छ।
फर्कने इच्छा अब
सपना होइन,
यो मेरो अस्तित्वको अन्तिम यात्रा हो।
तर फर्केर जाने गाउँ
त्यहीँ छ?
कि बदलिएको छ—
मानिसका अनुहार,सोच,अनि सपनाजस्तै?
मेरो जन्मभूमि,
म तिमीलाई अझै उस्तै देख्न चाहन्छु,
तर थाहा छैन,
के मैले देख्ने ठाउँ उस्तै हुनेछ,
या केवल यादले भरिएको एउटा खाली ठाउँ।