१६ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाडौं। परिवारको साथ र फुटबलप्रतिको लगाव र मेहनतले नेपाली मूलका आर्नव थापा इङल्याण्डको पुरानो र चर्चित क्लब मध्ये एक अक्सफोर्ड युनाइटेड फुटबल क्लबमा आवद्ध भएका छन्।
अक्सफोर्ड युनाइटेडमा आठ साता लामो कठिन र कडा ट्रायल पश्चात आर्नवले क्लबको यु–१३ टोलीमा दुई वर्षका लागि अनुवन्धसँगै स्थान बनाउन हुन सफल भएका हुन्। आर्नवले अक्सफोर्डमा आवद्ध हुनु अघि रिडिङ सिटी फुटबल क्लबको युथ टोलीबाट चार सिजन समेत खेले।
वालिङ,स्याङ्जा पुख्र्यौली घर भई हाल इङल्याण्डको रिडिङ शहरमा परिवारसहित बसोबास गर्दै आएका आर्नवको परिवारिक पृष्ठभूमि पनि फुटबलमय छ। उनका दाजु अरहान्त पनि राम्रा खेलाडी थिए। तर कलिलो उमेरमा दाजुको निधन भएपछि दाई कै सपना पुरा गर्दैछन् आर्नव।त्यसो त,आर्नवका पिता कुमार थापा मोफसलको चर्चित र परिचित सहारा क्लब, युकेका कोषाध्यक्ष समेत हुन्। अरहान्त कै स्मृतिमा उनको परिवारले हरेक वर्ष वालिङ युनाइटेड,स्याङ्जासँगको सहकार्यमा युथ फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ।
आर्नवका काका गोपाल थापा नेपाल कै युथ लेभलबाट अन्तर्राष्ट्रिय फुटबलमा पनि सहभागि भईसकेका छन् । त्यसबाहेक गोपालले एपिएफ क्लबबाट नेपालको शिर्ष फुटबल पनि खेले।
फुटबलमय माहोल कै कारण आर्नव पनि अहिले राम्रा बाल खेलाडीका रुपमा अगाडी बढिरहेका छन्। अक्सफोर्ड युनाइटेडमा युथ लेभलमा राम्रो गर्न सके उनले क्लबसँग थप व्यवसायिक सम्झौता गर्ने अवसर पनि छ। आर्नवका पिता कुमार भन्छन्, “यो शुरुवात मात्रै हो । उसले (आर्नव) ले मेहनत गर्दै गए अझै माथि जानेछ । यसमा हामी आशावादी पनि छौं।”
स्मरण रहोस, सन् १८९३ मा स्थापित भई १३१ वर्षे पुरानो इतिहास बोकेको अक्सफोर्ड युनाइटेड हाल इङल्याण्डको दोस्रो डिभिजनको इङलिस फुटबल लिग (इएफएल) च्याम्पियनसिप खेल्दैछ। यो लिगबाट बढुवा हुन सके अक्सफोर्डले शिर्ष लिग इङलिस प्रिमियर लिग खेल्नेछ।
(साभार- सुरज राना मगर, गोलनेपाल डटकमबाट।)