१६ पुष, २०८१
GNNNEWS-
लन्डन - नेपालमा शिक्षा,स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था,हेल्पनेपाल नेटवर्क युकेले आउँदो १२ जनवरी २०२५ मा फार्नबरोमा संस्था स्थापनाको रजत महोत्सव मनाउन लागेको छ। सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखाहरु रहेका छ्न भने नेपालमा केन्द्रीय कार्यालय रहेको छ।
“मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारा सहित सन् १९९९ मा बेलायतबाट हेल्पनेपाल नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।
नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरुलाई गएको २० वर्ष देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बाल गृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्। सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरुलाई पनि नेटवर्कले मानवीय सहायता पु-याउँदै आएको छ।
हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने, "गएको अढाई दशकसम्म हामीमार्फत नेपालको सेवा गर्ने सहयोगी र स्वयम्सेवीहरुलाई धन्यवाद दिन हामीले यो कार्यक्रम आयोजना गर्न लागेका हौँ। बेलायतस्थित नेपाली संघ संस्थाहरु संग समन्वय र सहकार्य गरी आगामी दिनमा पनि हाम्रा गतिविधि निरन्तर राख्न हामी प्रतिबद्ध छौं। "
नेपालमा महाभूकम्प, कोभिड महामारी तथा गत वर्षको जाजरकोट भूकम्पका बेला पनि हेल्पनेपाल नेटवर्क युकेले बेलायतबाट सहयोग संकलन गरी हेल्पनेपाल नेटवर्क नेपाल कार्यालयको अगुवाईमा सम्बन्धित समुदायहरुमै सेवा पुराएको थियो।