२३ पुष, २०८१
पुर्ण गुरुड्ग,
लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाएको छ। गत सोमबार ३० डिसेम्बर २०२४ अर्थात् २०८१ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा मनाइएको हो। नेपालबाट आमान्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको बिशेष उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा दिप प्रज्ज्वलन,घ्यासी (ग्रह शान्ति),आयु,साङ्ग,छोग, घनचक्र पूजा गरिएको थियो।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले तमूहरुको मौलिक पर्व ल्होछारको पावन अवसरमा सबै प्राणी जगतमा सुख, शान्ति, समृद्धि, दीर्घायू एवं सुस्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गर्दै सबैलाई स्वागत गरेका थिए। त्यस्तै, आमान्त्रित लामा गुप्ती गुरुङ, खेन्पो छेवाङ्ग,बीसीसी यूकेका खेन्पो शेनाङ्ग, लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङलगायत धर्मगुरुहरुले विभिन्न धार्मिक पूजापाठहरु गरेका थिए। साथै, गुप्ती लामा गुरुले ल्होछारबारे धार्मिक प्रवचन दिएका थिए भने तमू धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले ल्होछारको शुभकामना मन्तब्य दिएका थिए।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ। सोही अनुरुप यसबर्ष विश्वभर रहेका गुरुङहरुले गिद्ध बर्गलाई बिदाई गर्दै सर्प बर्गलाई स्वागत गरिएको हो । सो अवसरमा बीसीसी युके अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ, तमूधिं युकेका अध्यक्ष हरि गुरुङ,नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ,पूर्व अध्यक्षहरु हित काजी गुरुङ, ज्ञाम गुरुङ,रामचन्द्र सुर्जे गुरुङ, तमू फोरम युकेका अध्यक्ष क्या.राजु गुरुङलगायत आमाहरु, सल्लाहकारहरुको बिशेष उपस्थितिमा गुम्बा परिसरभित्र नयाँ लुंदा फेरेका थिए।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष हित काजी गुरुङ,शेर्पा एशोसिएशन युकेका अध्यक्ष रिन्जी शेर्पा, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युकेका अध्यक्ष बिक्रम भट्टराई,मगर संघ युके,सीसी लण्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ्ग,बीसीसी युकेका ट्रष्टी मेम्बर्सलगायत करीब १००० जनाको उपस्थिति रहेको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन क्याप्टेन देब घलेले जानकारी दिए।
उक्त कार्यक्रमलाई सफल बनाउनका लागि बीसीसी युकेका सिंगो कार्यसमिति,आमाहरु,सल्लाहकारहरुका साथसाथै ट्रष्टी मेम्बर्सहरुले बिशेष भूमिका खेलेका थिए। त्यस्तै,विभिन्न सहभागी भक्तजनहरुले भोजनदान, जिन्सी दान तथा दीप प्रज्ज्वलन गरेका थिए।
बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बीसीसी युके उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देब घलेले सहभागी सबैमा धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव मेजर हितमान गुरुङले कार्यक्रम संचालन गरेका थिए।
स्मरण रहोस्,बीसीसी युकेले तमू ल्होछार,सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायतका कार्यक्रमहरुमा बिशेष पूजापाठहरु गर्दै आएको छ।