२८ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई लन्डनमा नागरिक समाज बेलायतले शुक्रबार सांझ एक कार्यक्रमबीच नागरीक अभिनन्दन गरियो।
अभिनन्दन पत्रमा पूर्व उपकुलपति डा.कोइरालाले नेपालमा प्रजातन्त्र प्राप्ति, मानवअधिकार रक्षा,भ्रष्टाचार नियन्त्रण,सुशासन,खबरदारी एवं पूर्ण कानूनी राज्य स्थापना गर्न लगातार ध्यानाकर्षण गराएको भन्दै अभिनन्दन पत्रमा उल्लेख गरीएको छ। उनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गरेका विविध कार्यहरुको उच्च मूल्यांकन गर्दै अभिनन्दन गरिएको नागरिक समाज बेलायतले जनाएको छ। प्रशंसापत्रमा नागरिक समाज बेलायतका अध्यक्ष शेरबहादुर सुनार,महासचिव आर के त्रिपाठी र कार्यक्रम संयोजक डेभिड गुरुङको हस्ताक्षर छ।
औपचारिक कार्यक्रम शुरु हुनु अघि डा.कोइरालालाई पाइपर धुनले स्वागत गर्दै हलमा प्रवेश गराएर कदरपत्र,पुष्पगुच्छा र खादाले सम्मान गरियको थियो।
कदरपत्र प्राप्तपछि डा. कोइरालाले आफू अभिनन्दनका लागि लायक भए नभएको भविष्यले निर्धारण गर्ने तर यो सम्मान धेरै ओझपूर्ण भएको बताएका थिए। कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार हुनै पर्ने र होइन भने उसले राजनीति नगरे हुने बताए। अहिले नेपालमा राजनीतिमा नैतिकता र संस्कार दुवैमा खडेरी परेको र मैले त्यसमा तपाईंहरुलाई निराश हुन दिने छैन। म खरो तरिकाले उत्रन्छु’ डा कोईरालाले भने।
नेपाल ब्रिटेन सम्बन्ध दुई सय वर्ष बढी भइसकेको उल्लेख गर्दै त्यो सम्बन्ध गोर्खाहरुले त्यतिबेला नै स्थापित गरेको उनको भनाइ थियो। डा. कोइरालाले भूतपूर्व गोर्खाहरुको समान पेन्सन लगायत समस्या समाधान गर्न आफूले ब्रिटिश मन्त्री र सांसदहरुसँग कुरा उठाउने जनाए। यसका लागि समय लागेपनि आफ्नो आवाज उठाइरहन नछोड्न उनले सबैमा अपिल गरे। कोइरालाले नेपालका नेताहरुलाई निरन्तर खवरदारी गर्न र देशको समृद्धिमा साथ दिन बेलायतको नेपाली समुदायलाई आग्रह समेत गरे।
कार्यक्रमका सभापति एवं नागरिक समाज बेलायतका अध्यक्ष शेरबहादुर सुनारले भूतपूर्व गोर्खा समस्या समाधान र वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन कोइरालासमक्ष अनुरोध गरे। उनले सहयोगी र सहभागी सबैप्रति आभार समेत व्यक्त गरेका थिए।कार्यक्रममा स्वागत मन्तव्य दिंदै कार्यक्रम संयोजक डेभिड गुरुङले डा.कोइरालालाई भावी प्रधानमन्त्री र कांग्रेस सभापतिका रुपमा बेलायतका नेपालीहरुले चाहेको बताए। आफूहरुले पार्टी हेरेर भन्दा पनि स्वच्छ छवि भएका र देशलाई नेतृत्व गर्न सक्षम नेताको सम्मान गर्न पाउंदा गर्व लागेको बताए।
उक्त कार्यक्रममा कांग्रेस नेताहरु तस्विर लामा,आर के त्रिपाठी,गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, नेसा यूके अध्यक्ष केसबहादुर गुरुङ,एनआरएनए आइसीसी पूर्व अध्यक्ष कुल आचार्य, एनआरएनए आइसीसी सल्लाहकार हिराधन राई, सोंपाल समाज यूकेका संस्थापक अध्यक्ष विजय गुरुङ लगायतले मन्तव्य दिएका थिए।
युवा अभियन्ता एवं मोर्गेज एड्भाइजर रमेश सराङकोटीले सञ्चालन गरेको सो कार्यक्रम नेपालीहरुको भब्य उपस्थिती थियो।
श्रोत-नेपाली लिङ्क।
तस्विर- शिव भण्डारी