१३ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल प्रहरीका कर्मचारीहरुले पाउँदै आएको औषधि उपचार वापतको रकम कटौती नहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयको प्रशासन विभागका डीआईजी सुशीलसिंह राठौरले औषधि उपचार वापतको रकम कटौती गर्ने विषयमा सत्यता नरहेको बताए।
पछिल्लो केही दिनयता नेपाल प्रहरीका कर्मचारीले पाउँदै आएको औषधि उपचारको रकम कटौती हुने भन्ने गुनासो आउनेदेखि केहीले भने त्यसैलाई कारण देखाउँदै राजीनामा समेत दिने गरेका थिए।
डीआईजी राठौले हस्ताक्षर गरेको उक्त सूचनामा लेखिएको छ, ‘प्रहरी नियमावली २०७१ बमोजिम प्रहरी कर्मचारीलाई औषधि उपचार लगायत विभिन्न सेवा, सुविधाको व्यवस्था अवगत नै छ । उक्त सुविधाहरु कटौती हुने भन्ने हल्लामा सत्यता छैन।'
प्रहरी नियमावली २०७१ को दफा १४१ मा औषधि उपचार खर्चबारे उल्लेख गरिएको छ। १४१ को उपदफा (१) मा ‘प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राकिंत श्रेणीको प्रहरीले अधिकृत भए १२ महिना बराबरको, राजपत्र अनंकित प्रथम श्रेणीको भए १८ महिना र अन्य राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी भए २१ महिना बराबरको खाइपाइ आएको तलब रकमसम्म उपचार खर्च पाउनेछन्’, उल्लेख छ।
(कान्तिपथ डटकम।)