Thursday March 20, 2025

काठमाडौं प्रहरी परिसरमा दुई एसपीको व्यवस्था, कुलदिप चन्दको पदस्थापन

२२ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1202


काठमाडौं प्रहरी परिसरमा दुई एसपीको व्यवस्था, कुलदिप चन्दको पदस्थापन

शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल प्रहरीले अबदेखि जिल्ला प्रहरी परिसर काठमाडौंमा दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने व्यवस्था गरेको छ। यसअघि एक जना मात्र एसपी रहने प्रथालाई परिवर्तन गर्दै प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसपी कुलदिप चन्दलाई नयाँ एसपीका रूपमा पदस्थापन गरेको हो।

चन्दको नियुक्तिपूर्व परिसरमा एसपी अपीलराज बोहरा मात्र कार्यरत थिए। प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यका अनुसार, काठमाडौं परिसरमा कामको अत्यधिक चाप हुने भएकाले दुई जना एसपी रहने व्यवस्था गरिएको हो।

प्रहरी प्रधान कार्यालयले एसपी चन्दलाई अब्बल र उत्कृष्ट अधिकृतका रूपमा पहिचान गर्दै काठमाडौं प्रहरी परिसरमा खटाएको जनाएको छ। यसअघि नै परिसरमा दुई जना एसपी राख्ने प्रस्ताव थियो तर कार्यान्वयन हुन सकेको थिएन।

२०७८ कार्तिकमा तत्कालीन एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले काठमाडौं परिसरमा सामाजिक, आर्थिक तथा जघन्य अपराध हेर्ने गरी तीन जना डीएसपी र मुद्दा फाँटको समग्र कमान्ड गर्न एक जना एसपी खटाउन सिफारिस गरेको थियो। उक्त एसपीलाई काठमाडौंका १४ वटा वृत्तका डीएसपीहरू इन्चार्ज रहने गरी मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने सुझाव समितिले दिएको थियो।

पेशेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकी प्रमाण अभावका कारण सफाइ पाएको घटनापछि अनुसन्धानमा हुने कमजोरी न्यूनीकरण गर्न दुई एसपी राख्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरको कमाण्ड भने वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ले सम्हाल्ने व्यवस्था यथावत् नै रहने छ।
(सुरक्षा सरोकारबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?