Thursday March 20, 2025

नेपाली मूलका बैंकरले बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपिल

२ फाल्गुन, २०८१ शीतलपाटीन्युज डटकम। 1117


नेपाली मूलका बैंकरले  बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपिल

GNNNEWS-

लन्डन। न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर प्रवेश रिजालले गत  अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। गत मंगलबार  इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थित क्रस रिभर बैंकको  क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुख समेत रहेका रिजालले प्यालेस्टिनी उग्रवादी समूह हमासले  अपहरण गरेका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे।

नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूको सम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, “त्यही ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबीचको सहानुभूति र ऐक्यबद्धताको प्रतीक पनि हो।”

रिजालले थपे, "हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दा मेरो मन अझै भारी छ। किनकि अझै पनि थुप्रै निर्दोष नागरिक हमासको कब्जामा छन्, जसमा नेपाली नागरिक बिपिन जोशी पनि छन्। उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउने प्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गर्छौं र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।”

रिजालले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूलाई स्मरण गर्दै भने, “नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति, र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपना एक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चित गर्न चाहन्छौं कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन। उनीहरूका परिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रो प्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।”

रिजालसँग कुराकानी गर्दै किब्बुजमा नेपाली विद्यार्थीहरूसंगै बसेका र काम गरेका इजरायली नागरिकहरूले उनलाई घटनाको विवरण सुनाउनुका साथै मृतक विद्यार्थीहरूको सम्झना गरेका थिए।  उनीहरुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बिपिन जोशीप्रति थप ध्यान दिनुपर्ने माग पनि गरे।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?