२० चैत्र, २०८१
मुकेश राई,
अहिले रचनाकार शान्ति लिम्बुको हाइकु, मुक्तक र गीतहरुको त्रिवेणी संगमको रुपमा प्रकाशित् कृति "कस्तुरी यात्रा" मेरो हातमा छ! अत्यन्तै शालिन अनि भद्र व्यक्तित्वकी धनी साहित्यकार शान्ति लिम्बु बहिनीसङ्ग निकै अगाडी विनेसाम युकेले गरेको निकै भव्य कार्यक्रममा परिचय भए लगत्तै उहाँको "मिलीजुली" नामक उपन्यास पठनको सौभाग्य मिलेको थियो! त्यसपश्चात बहिनीसङ्ग युकेमा भईरहने विभिन्न साहित्यिक र सामाजिक कार्यक्रमहरुमा भेटघाट भई नै रहन्छ, यही सिलसिलामा बहिनीले मलाई आदरपूर्वक हस्तान्तरण गर्नु भएको कृति "कस्तुरी यात्रा" सरसर्ति हेरेर थन्काएको सेल्फबाट व्यस्ततारुपी बहाना भनौ या बाध्यतात्मक परिस्थितीले गर्दा करिब एकबर्ष पश्चात अहिले फेरि निकालेर दोहोर्याउँदै जाँदा दुइचार शब्द कोर्ने रहर जाग्छ! एउटा प्रखर कवि, गीतकार वा बहुप्रतिभाशाली लेखिका शान्ति लिम्बु संगीत र साहित्यप्रतिको अनुरागले नजिकिएको निश्छल नाता हो र बसोबासोको हिसाबले नेपालमा छिमेकी जिल्लावासी भएता पनि युकेमा हामी फार्नबोरोवासी हौ!
डायस्पोरा बिशेष बेलायतमा रहेर विभिन्न सिर्जनात्मक कार्यहरुमा अघि बढिरहेका सर्जकहरुका जमातमा एउटा प्रखर नारी हस्ताक्षरका रुपमा पहिचान बनाउन सफल शान्ति लिम्बुको पारिवारिक पृष्ठभूमि गोर्खाली सिपाही अर्थात लाहुरे वा उनीहरुको सन्तानको रुप नै हो! यसैले उहाँको लेखनमा स्वदेशप्रेम र परदेशिनुको बाध्यता र पिडाहरुलाई नै मुलत सम्बोधन गरिएका भेटिन्छन्! उहाँले आफ्नो कृति कस्तुरी यात्रामा लेख्नुभएको भनाइ उद्दृत गर्ने हो भने "प्रत्येक दिन हजारौ नेपाली युवायुवतीहरु ठुलो समुहमा देश छोडेर विदेशतिर उड्दैछन! ति विकसित देशका मानिसहरु चन्द्रमा हुँदै अन्य ग्रहको खोजयात्रा गर्दैछन, अनि लाग्छ, हामी सबै कस्तुरी यात्रामा छौ! यो पृथ्वी स्वयमले पनि आफ्नै तवरले कस्तुरी यात्रा गरिरहेको छ! यस्तै यात्रा नै हो यो जीवन र यस्तै यात्रा हो कस्तुरी यात्रा सङ्रह पनि!” मैले यसैमा प्रसङ्गवस मेरो विचार जोडन चाहेँ, “हो, यो कृति पनि कस्तुरीले छोडेको सुगन्धित विनारुपी सुगन्ध हो, जो युगौयुग पाठकहरुमाझ अमर रहिरहनेछ!”
"कस्तुरी यात्रा" पहिलो खण्डमा १०० वटा हाईकु, दोस्रो खण्डमा ३० वटा मुक्तक र तेस्रो वा अन्तिम खण्डमा २० वटा गीतहरु समाविष्ट रहेको यो पुस्तकका हरेक रचनाहरु उस्तै मनोहारी छन! यो उनको दोस्रो कृति हो! पहिलो "मिलिजुली" उपन्यास तर उहाँको भनाइ अनुसार आफ्नो कृतिहरुलाई सन्तानकै रुपमा स्वीकार गर्दै आफ्नो दुई प्यारी छोरीहरु चेरिसा र शानफुङलाई पनि क्रमबद्ध गरेर यो पुस्तकलाई चौथो सन्तानको दर्जा दिएकी छिन, यसैबाट साहित्यप्रतिको अनुराग र समर्पणको अनुमान गर्न सकिन्छ! हुनपनि हो कुनैपनि सिर्जनालाई मुर्त रुप दिएर लोकार्पण गर्न सक्नु चानचुने कुरो होईन!
"कस्तुरी यात्रा" हाइकु खन्ड:-
शिरिस फूल
भ्रमर चुम्बन मै
ओइली झर्छ!
यो ३ हरफ धेरै पहिले पारिजात दिदीको "शिरिसको फूल" मा पढ्ने अवसर मिलेको थियो, जुनबेला यो संरचनागत रुपले हाइकु हो भन्ने कुरोबाट म अनभिज्ञ थिएँ, पछि मात्रै ५, ७, ५ को मात्रामा लिखित यो रचना हाइकु हो भन्ने बुझ्ने अवसर पाएको थिएँ!
हाईकु मुलत जापानी काव्यिक रचनाको एउटा विधा हो! जापानी संस्कृतिको परम्परा र साहित्यिक सौन्दर्य चेतनाको अनुपम विधाको हाइकुलाई कवि मात्सुओ बाशो (१६४४-१६९४)ले “बासोको हाइकु” शिर्शकको संग्रह प्रकासित गरेका थिए! यसरी हाइकु मात्सुओ बाशोले सत्रौं शताब्दीमा नै जीवन दर्शनसङ्ग जोडेर जापानी साहित्यको युगधाराको रूप में उदय गरिसकेका थिए! अत्यन्तै कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु र सिजोलाई पूर्वी एसियाली साहित्यको विश्व साहित्यलाई उदाहरणिय रूपमा लिइन्छ। संरचनागत नियम अनुसार हाइकु, पहिलो हरफमा पाँच अक्षर, दोस्रो हरफमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षर गरी जम्मा सत्र अक्षरको हुन्छ तर यो शास्त्रिय संरचनाको नियमले मात्र पर्याप्त हुँदैन, संरचनागत नियम, कलात्मकता शैली, गहन भावपक्ष र व्यापक अर्थ राख्नु सक्नु हाइकुको कठिन मान्यता र शास्त्रिय चरित्र हो!
नेपाली साहित्यमा हाइकुको रचना गर्ने प्रथम हाइकुकार शङ्कर लामिछाने मानिन्छन, उनले नै सर्वप्रथम बि सं २०१९ सालमा रूपरेखा पत्रिकामा 'हाइकु' प्रकाशन गरेका थिए। त्यसपछि नेपालमा पनि हाइकुको प्रभाव बढदै गयो! यसरी सुरु भएको नेपाली हाइकु लेखनले अहिले आएर निकै लोकप्रियता हासिल गरेको छ । नेपाली साहित्य क्षेत्रमा हाइकुका सयौँ कृतिहरू प्रकाशन भइसकेका छन् भने जनक सापकोटाले अन्तर्राष्ट्रिय हाइकु समाजमा नेपाली हाइकु स्थापित गरेका छन! मलाई थाहा भए अनुसार बेलायतमा सम्भवत साहित्यकार केदार संकेतको हाइकु सङ्रह "पलांसको फूल" पहिलो हो भने दोस्रो संग्रह "कस्तुरी यात्रा" हो, अन्यथा परे क्षमाप्रार्थी रहँदै कस्तुरी यात्रामा मलाई मन परेको केही हाइकुहरु राख्न चाहन्छु:-
आकाश हेरेँ
भर्खर सेतो थियो
रङ्ग बदल्यो!
कमल फूल
टिपौँ कि जस्तो लाग्यो
हिलोले रोक्यो!
खहरे खोला
ठुलो गडगडाउँछ
लगत्तै सुक्छ!
अहंकार छ
सुख र शान्ति छैन
जिउँदो लाश
उनको रचनाहरुको रस्वादन गर्दै जाँदा कतिपय सिर्जनामा उनले हरेक वस्तुलाई तथ्यपरक दृष्टिले हेरेर, महसुस गर्दै मानविय संवेदना र विसङ्गतिहरुप्रति मज्जाले सकरात्मक् सोचको हथौडाले प्रहार गरेकी जस्तो लाग्छ! यद्धपि पाठकहरुले कुनै पनि काव्यिक रचनाहरु पढेपछि आफ्नो स्वविवेक र स्वविचारले त्यसभित्र रहेको भाव, अर्थ र मर्मलाई बुझ्ने, देख्ने र अनुभूत गर्ने आफ्-आफ्नै क्षमता र दृष्टिकोण हुन्छ! त्यही नै कुनै पनि रचनाहरुको सार र मुलभूत गुण हो! यसैले उहाँको यि रचनाहरुप्रति आफ्नै बुझाई र दृष्टिकोण हुनसक्छ!
मुक्तक खन्ड:-
नेपाली साहित्यको अभिन्न अंगको रुपमा लेखिने यस् विधामा डायस्पोराबाट् पनि धेरै मुक्तककारहरुले संग्रहको रुपमा आफ्नो कृतिहरु प्रकासित् गरिसकेका छन! यसै क्रमलाई निरन्तरता दिदै शान्ति लिम्बुले पनि आफ्नो कृतिमार्फत मुक्तककारको रुपमा आफुलाई उभ्याउन सफल भए।