Tuesday July 08, 2025

अटवामा सांस्कृतिक कार्यक्रमसहित गरियो नेपाली नयाँ वर्षलाई स्वागत

२ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1192


अटवामा सांस्कृतिक कार्यक्रमसहित गरियो नेपाली नयाँ वर्षलाई  स्वागत

GNNNEWS-

अटवा। नयाँ वर्ष  विसं २०८२ को अवसरमा   नेप्लिज क्यानेडियन  एसोसिएसन अफ अटवा (एनसीएओ) ले आयोजना गरेको संस्थाको साधारणसभा तथा सांस्कृतिक प्रस्तुति अधिकांश सहभागीका लागि आफू जन्मिएको माटोको सुवास दिने कार्यक्रम बन्न पुग्यो।  

गत नोभेम्बर २०२४ मा स्थापना गरिएको 'मादले गोठाले र्‍याप्सडी' का  सदस्य नवराज सुवेदीले एउटा भजन गाए भने  उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी स्व धर्मराज थापाको 'नेपालीले माया मार्‍यो बरिलै' गीत गाएर श्रोता/दर्शकलाई मन्त्रमुग्ध पारे।  झन्डै सात दशक पहिले नेपालीहरू रोजगारीका लागि दार्जीलिंग, आसाम, बर्मा (हाल म्यानमार), भाक्सु, ह्लासा, भोट,  देहरादुन र  नैनीताल जाने गरेको थापाले आफ्नो गीतमा उल्लेख गरेका छन्। समय फेरिएको छ, तर नेपालीहरू संसारभरि फैलने क्रम भने रोकिएको छैन।

कार्यक्रममा ब्यान्ड सदस्यहरू नवीन गौतम र दिलीप दुलालले स्व पुष्प नेपाली तथा रुबी जोशीको 'शितलु माथि नि शितलु भयो नि' बोलको गीत गाए भने   स्व झलक मान गन्धर्वको 'तिम्रो नै माया लाग्दछ साइँली' जस्ता कालजयी गीतहरू पनि सुनाए।  डा जगदीश घिमिरे,  दीपक श्रेष्ठ लगायतले विभिन्न इन्स्ट्रुमेन्टमा  साथ दिए।

"हामीले नेपाली सम्पदा केन्द्र मार्फत प्रवासमा पनि नेपाली कला, संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तालाई हाम्रो विपुल सम्पदा हस्तान्तरण गर्न सक्दो प्रयास गरिरहेका छौँ।  अटवास्थित नेपाली समुदायको सहयोगका लागि हामी आभारी छौँ," केन्द्रका बोर्ड अफ डाइरेक्टर  तथा ब्यान्डका लिड डा विष्टले भने।

 कार्यक्रममा स्वस्तिका शर्मा लगायतले नृत्य प्रस्तुत गरेका थिए भने इदिका र श्रीदिकाले सांस्कृतिक  कार्यक्रम सञ्चालन गरेका थिए।  

ब्रिटानिया पार्कस्थित सभा कक्षमा आयोजित कार्यक्रमको पहिलो चरणमा  एनसीएओको वार्षिक साधारण सभा आयोजना गरिनुका साथै  नयाँ सञ्चालकहरूको चयन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको जगेर्ना गर्न  एनसीएओले गरिरहेको कामको प्रशंसा गरे।  उनले गत वर्ष पनि आफू एनसीएओको कार्यक्रममा सहभागी भएको स्मरण गर्दै खासगरी युवा तथा बालबालिकालाई समावेश गरेर कार्यक्रमहरू आयोजना गरेकोमा संस्थाको प्रशंसा गरे।  उनले आफूसँग रहेको सीप, अनुभव र श्रोत नेपालको हितमा उपयोग गर्न सबै प्रवासी नेपालीहरूलाई आग्रह पनि गरे। राजदूत पौडेलले एनसीएओको प्रकाशन 'अटवा चौतारी' को  नयाँ अङ्कको लोकार्पण पनि गरे।  अटवा चौतारीको सम्पादन समूहका सदस्य वीरेन्द्र सापकोटाले लेख रचना पठाउने बालबालिका लगायत  सबैलाई धन्यवाद दिए।  

कार्यक्रममा नेपाली सम्पदा केन्द्र अटवाका अध्यक्ष डा कालिदास सुवेदीले हाल अटवास्थित बारहेभनमा भाडामा घर लिई धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गरिरहेको बताए।  उनले आउँदो दस वर्ष भित्र अटवामा नेपाली मन्दिर तथा बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्य लिइएकाले   उक्त अभियानमा सघाउन अटवा लगायत क्यानडाभरि रहेका नेपाली समुदायका अगुवाहरूलाई आग्रह गरे।  

उक्त अवसरमा अटवा वेस्ट - नेपियनबाट ग्रिन पार्टीको तर्फबाट सङ्घीय सांसद  पदका उम्मेदवार प्रशान्त ढकालले नेपाली समुदायको हकहितका साथै वातावरणीय मुद्दालाई प्राथमिकता दिँदै आफूले उम्मेदवारी दिएको बताए।  उनले जलवायु परिवर्तनजस्ता चुनौतीहरूसँग जुध्दै सुपथ आवासको व्यवस्था गरेर दक्ष युवा जनशक्तिलाई देशमै रोजगारी दिनु पर्ने बताए।  त्यस्तै एनआरएनए क्यानडाका प्रज्वल कार्की, एनसीएओकी बोर्ड अफ डाइरेक्टर मेनुका चिमोरिया लगायतले शुभकामना दिएका थिए ।

 एनसीएओका बोर्ड अफ डाइरेक्टर मोहन बस्नेतले सबैलाई  स्वागत गरेका थिए भने युवा व्यवसायी नारायण क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?