१५ बैशाख, २०८२
गङ्गा भण्डारी,
आमा
आमा सागर हुन् खुला गगन हुन् आधार आनन्द हुन्
आमा सिर्जक सृष्टि चालक उनै धाता विधाता नि हुन्।
छातीको रसबाट सिञ्चित गरी उद्यानका फूलझैँ
सह्माल्छिन् नव सिर्जना हृदयमा राखेर आफू सधैँ।।१
लोरीको स्वर मालकोष धुनझै आनन्द वर्षाउने
गाई लालन भर्दछिन् नयनमा तन्द्रा मिठो ल्याउने।
त्यो वात्सल्य प्रभातका किरणझै हो ओखती आत्मिय
आत्माशक्ति बढाउने बल दिने आमा त हुन् आखिर।।२
होला भोक थकान हुन्न उनमा जर्को छ न्यानो मन
त्यै न्यानोपन भित्र मिल्दछ सदा आत्मिय संयोजन।
हे बर्को बल दे न सापट भनी सन्तुष्ट पार्छिन् जन
तत् पश्चात् जति शेष मिल्दछ लिई सन्तुष्ट पार्छिन् मन।।३
खेल्दा काख भरेर छम्छम भुरा आनन्दले हाँस्दछिन्
आँखाको जलबाट जीवन मुछी आफू स्वयं बाँच्दछिन्।
विर्सिन्छन् बचराहरू जब ठुला हुन्छन् पखेटा फिटी
मेरो कर्म फल्यो भनेर सजिलै स्वीकार गर्छिन् बसी।।४
आमा अम्बर वायु वृक्ष सरिता जस्तै नदी सागर
दिन्छन् मात्र लुटाउँछन् सबकुरा आशा विना क्यै फल।
हे आमा! म त तुच्छ छाल लहरी के बुज्नु तिम्रो बल
बुझ्ने चाह हुँदा ढिला भइगयो रित्तो छ ऐले घर।।५
आमाको ममता र त्याग जतिको होलर अर्को कुनै
धर्ती धाम समान मन्दिर ठुलो होलार अर्को कुनै।
छायाँ आउँछ साथमा नरम त्यो सान्निध्य को आशमा
जम्लाहात गरेर अर्पण गरेँ यो माथ त्यो काखमा।।६
🙏💐 🙏💐